एनएसएल

एनएसएलः विराटनगर एफसीको प्रशिक्षण विष्णु गुरुङले सम्हाल्ने

काठमाडौं । विराटनगर फुटबल क्लबले दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) काे लागि विष्णु गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सहीद स्मारक ‘ए’ डिभिजन लिगबाट प्रशिक्षणमा सफल डेब्यु गरेका विष्णु नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकसमेत हुन् ।

एनएसएलको पहिलो संस्करणमा विराटनगरको प्रशिक्षण भारतीय प्रशिक्षक यान ल सम्हालेका थिए । तर, उनले प्रतियोगिताअन्तर्गत काठमाडौं रेजर्सविरुद्धको खेलमा आफ्नो खेलाडीलाई खेल छोडेर मैदान बाहिर बोलाएपछि एनएसएलले यान ललाई दुई वर्षको प्रतिबन्ध लगाएको थियो । यसैकारण विराटनगरले यो सिजनका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी गुरुङलाई सुम्पिएको हो ।

यसअघि पहिलो संस्करणामा सात टोलीकाे सहभागिता रहे पनि आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले यस सिजन प्रतियोगितामा तीन टोली थप्दै सहभागी टोलीको संख्या १० पुर्याएको छ । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र विरगंंज युनाइटेड थपिएका हुन् ।

गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी थिए । 

प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।  

चैत २६ गतेदेखि बैशाख आठ गतेसम्म हुने प्रतियोगिताको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ । जसका लागि आयोजकले मंगलबार अक्सनका लागि छानिएका दुई सय ४२ खेलाडीको सुची सार्वजनिक गरेको थियो । आयाेजकले अक्सनका लागि छानिएका खेलाडीहरुलाई ‘ए’, ‘बी’ र ‘सी’ गरि तीन श्रेणीमा राखेकाे छ ।