फिफा

समूह चरण,अहिलेसम्मकै उत्कृष्टः इन्फान्टिनो

दोहा ।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप २०२२ अन्तर्गत भएका समूह चरणका खेलहरुलाई अहिलेसम्मकै उत्कृष्ट खेलहरुको संज्ञा दिएका छन् ।

कतारमाथि मानवअधिकार उल्लंघन गरेको र आयोजना अधिकारमा आर्थिक अनियमितता भएको आरोप लाग्दै आएको थियो । उद्घाटन समारोहमा इन्फिान्टिनाले पश्चिमा मिडियाहरु नियोजित रुपमा कतारमाथि खनिएको दाबी गरेका थिए । सो प्रतिक्रियासँगै उनी विवादमा तानिएका थिए ।

समूह चरणमा कुनै पनि टोलीले शतप्रतिशत अंक जोड्न सकेन । समूह चरणमा मोरोक्काको प्रदर्शनले सबैलाई आश्चर्यमा परेको थियो ।अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग २-१ ले स्तब्ध भयो । त्यस्तै जर्मनी र बेल्जियमको यात्रा समूह चरणमा सीमित भयो ।

अन्तिम १६ मा पनि मोरोक्काले मंगलबार स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले स्तब्ध पारेको थियो ।

‘मैले सबै खेल हेरेको छु र म के दाबी गर्न सक्छु भने यस पटक हामीले विश्वकप इतिहासमै समूह चरणमा उत्कृष्ट खेल हेर्यौ’, इन्फान्टिनाले भने,'अन्तिम १६ मा पनि मोरोक्कोले उत्कृष्ट नतिजा निकाल्यो । यस पटक अझ रोचक नतिजा आउनेमा शंका छैन ।दर्शकले पनि प्रत्येक खेलमा उल्लेख्य साथ दिइरहेका छन् । समूह चरणमा हामीले सबै टोलीको समान हैसियत देख्यौ । कुनै टोली सानो र कुनै टोली ठूलो देखिएन ।'