नेदरल्यान्ड्स

मेसी पनि मानव हुन् र उनले पेनाल्टीको अवसर गुमाउँन सक्छनः नोपेर्ट

दोहा । नेदरल्यान्ड्सका गोलकिपर एन्ड्रिस नोपेर्ट नोपर्टले अर्जेन्टिनाका कप्तान लियोनल मेसी मानव भएकाले उनले पनि पेनाल्टीको अवसर गुमउन सक्ने बताएका छन् ।

आफ्नो पाँचौ विश्वकप सहभागितामा मेसीले जारी कतार विश्वकप २०२२ मा चार खेलमा तीन गोल गरेका छन् । समूह चरणको पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २-१ ले स्तब्ध भएको खेलमा एक गोल गरेका मेसीले मेक्सिकोविरुद्ध २-० को जित निकालेको खेलमा एक गोल गरेका थिए । अन्तिम १६ मा अस्ट्रेलियाविरुद्धको खेलमा एक गोल गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा मेसीले पोल्यान्डविरुद्ध पेनाल्टीको अवसर गुमाएका थिए ।

अर्जेन्टिनाका लागि मेसीले ९४ गोल गरेका छन् । यसक्रममा मेसीले २६ मध्ये २१ पटक पेनाल्टीको अवसर सदुपयोग गरेका छन् ।

जापान र स्पेन पेनाल्टी सुटआउटमा अभागी हुँदै अन्तिम १६ बाट बाहिरिसकेका छन् । शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना आमने सामने हुँदैछन् ।

अर्जेन्टिनाविरुद्धको खेलमा मेसीले पेनाल्टीको अवसर पाए आफू त्यसलाई रोक्न तयार रहेको पनि नोपेर्टले बताए ।

‘उनी पनि मानव नै हुन्’, नोपेर्टले भने, सबैले प्रत्येक पेनाल्टीको अवसर सदुपयोग गर्छन भन्ने हुँदैन । मेसीले पनि पेनाल्टीका केही अवसरमा चुकेका छन् ।'

यी दुई टोली सन् २०१४ को ब्राजिल विश्वकपको सेमिफाइनलमा आमने सामने भएका थिए । जहाँ अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।