आइसिसी विश्वकप क्रिकेट लिग टु

नामिबियाले दियो नेपाललाई दुई सय ७६ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीयको आफ्नो अन्तिम खेलमा घरेलु टोली नामिबियाले नेपालसामू दुई  सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युनाईटेड क्रिकेट क्लब गाउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ७५ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि माइकल भान लिनगनले एक सय ११ बलमा १५ चौका र एक छक्का मद्दतमा एक सय १९ रनको योगदान दिए ।

त्यस्तै कप्तान जोर्हार्ड इरास्मसले ७६ बलमा एक चौका र दुई छक्कामद्दतले ५३ रन बनाउँदा जान निकोलले ४० रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले चार, सोमपाल कामीले दुई तथा सागर ढकालले एक विकेट लिए ।

नेपाल २२ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । नामिबिया भने २९ खेलबाट ३५ अंक जोड्दै तेस्रो स्थानमा छ ।
शृंखलाको पहिलो खेलमा नामिबियासँगका खेल वर्षा बाधक बन्दा अंक बाँडेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटको नतिजा सुम्पिएको थियो ।

यता नामिबियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई चार विकेटको नतिजा सुम्पिएको थियो । तेस्रो खेलमा सोमबार भने नामिबियाले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।

नेपाल र नामिबियाले एक अर्काविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका खेलेका छन । दुई खेल नामिबियाले जित्दा एक खेल भने बर्षाका कारण रद्द भएको छ ।