जर्मनी

क्लब फुटबलमा केन्द्रित हुन मुलरलाई माटियोसको आग्रह

बर्लिन । जर्मनीका पूर्वमिडफिल्डर लोथर माटियोसले थोमस मुलरलाई कतार विश्वकप २०२२ बाट बाहिरिएको पिडा बिर्सदै क्लब खेलजीवनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

समूह इ मा रहेको जर्मनी एक जित, एक हार र एक बराबरीको नतिजापछि तेस्रो स्थानमा बस्दै समूह चरणबाटै बाहिरिएको थियो । रुस विश्वपमा पनि जर्मनीको यात्रा समूह चरणमा सीमित भएको थियो ।

कतार विश्वकपबाट बाहिरिएसँगै बायर्न म्युनिखका मुलरले ब्यवसायिक खेल जीवनलाई निरन्तरता दिने योजना रहे पनि अन्तर्राष्ट्रिय खेल जीवनबाट भने संन्यास लिने संकेत गरेका थिए । 

मुलरले जर्मनीबाट समूह चरणका तीनवटै खेल खेले पनि गोल खाता भने खोल्न सकेका थिएनन् । 

‘विश्वकपमा मुलरको मात्र होइन, जर्मनीका अन्य खेलाडीको प्रदर्शन पनि सन्तोषजनक रहेन’,माटियोसले भने, ‘म मुलरलाई विश्वकपको निराशाजनक प्रदर्शन भुलेर क्लब फुटबलमा केन्द्रित हुन आग्रह गर्न चाहन्छु । उनी अहिले स्वभाविक लयमा छैनन । यद्धपी राष्ट्रिय टोलीबाट निरन्तर खेल्न चाहेमा उनी त्यसका लागि पनि स्वतन्त्र छन् । ’

मुलरले जर्मनीका लागि विश्वकपमा १० गोल गरेका छन् । २०१४ को विश्वकपमा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जित्दा मुलर जर्मनीका प्रमुख खेलाडी थिए ।