क्रोएसिया

हामी पनि उपाधि दाबेदार हौंः डेजान लोभरेन


दोहा । कतार विश्वकप २०२२ को अन्तिम १६ मा जापानलाई हराउँदै क्वार्टरफाइनल पुगेपछि क्रोेएसियाका रक्षक डेजान लोभरेनले आफुहरु बलियो टोली रहेको प्रमाणित भएको बताएका छन् । 

रुस विश्वकपमा आफूहरुको फाइनलसम्मको यात्रालाई भाग्यको भर भन्नेतर्फ संकेत गर्दै लोभरेनले रुस विश्वकपकमा आफ्नो टोली कडा मिहेनतपछि मात्र फाइनल प्रवेश गरेको बताए ।

गोलकिपर डोमोनिक लिभाकोभिचले तीन खेलाडीको पेनाल्टी बचाएपछि क्रोएसियाले सोमबार अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो । लोभरेनले आफ्ना पुर्वक्लब सहकर्मी लिभरपुलका मोहम्मद सलाहलाई जवाफ दिँदै आफूहरु कतार विश्वकप २०२२ मा उपाधि दाबेदार टोलीको रुपमा रहेको बताए ।

सलाहले रुस विश्वपकमा क्रोएसिया भाग्यमानी साबित हुँदै फाइनलसम्मको यात्रा तय गरेको भन्दै मजाक गरेका थिए ।

‘हामीले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शनका साथ आफूलाई बलियो टोलीको रुपमा उभ्याएका छौ,’उनले भने, ‘चार वर्ष अघि हाम्रो फाइनल यात्रालाई भाग्यमानीको संज्ञा दिइएको थियो । लिभरपुलका मेरा सहकर्मी सलाहले पेनाल्टीमा हामी भाग्यमानी बन्दा फाइनल प्रवेश गरेको भन्दै मजाक गरेका थिए । तर हामीले आफुहरु बलियो टोली हौ भन्ने प्रमाणित गरेका छौ । यो विशेष क्षण हो ।’

क्रोएसियाले रुस विश्वकपमा डेनमार्क र आयोजक रुसलाई पेनाल्टी सुटआउटमा हराएको थियो । क्रोएसियाले इङ्ल्यान्डलाई अतिरिक्त समयमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा क्रोएसिया फ्रान्ससँग् ४–२ ले पराजित भएको थियो ।

शुक्रबार हुने क्वार्टरफाइनलमा क्रोएसियाले एजुकेशन सिटी स्टेडियममा ब्राजिलको सामना गर्नेछ ।