कतार विश्वकप २०२२

लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि क्रोएसिया क्वार्टरफाइनलमा

काठमाडौं । गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी जोगाएपछि क्रोएसियाले सोमबार राति पेनाल्टी सुटआउटमा जापानमाथि ३-१ को जित हासिल गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १-१ को बराबरीमा टुंगिएपछि निर्णयार्थ टाई ब्रेकरमा पुगेको खेलमा लिभाकोभिचले तीन पेनाल्टी गोजाउँदा क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए ।

लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मनिामिनोले प्रहार गरेको पहिलो, काउरो मितोमाले प्रहार गरेको दोस्रो तथा माया योसिदाले प्रहार गरेको चौथो पेनाल्टी जोगाएका थिए । जापानका तर्फबाट ताकुमा असानोले प्रहार गरेको तेस्रो पेनाल्टी भने गोलमा परिणत भएको थियो ।

क्रोएसियाका तर्फबाट निकोला भियासिचले पहिलो प्रहार गोलमा परिणत गरेका थिए । दोस्रो पेनाल्टी हान्न आएका मार्सेलो ब्रोजोभिचको प्रहार पनि गोलमा परिणत भयो । तर मार्को लिभाजाले प्रहार गरेको तेस्रो पेनाल्टी पोलमा लागेर फर्किँदा जापानको आशा पलाएको थियो ।

तर, जापानका असानोको प्रहार खेर गएपछि क्रोएसियाको तर्फबाट मारियो पालासिचले चौथो पेनाल्टीलाई गोलमा परिणत गर्दै चार वर्षअघि रुस विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको टोलीलाई अन्तिम आठ पुर्याए ।

जापानले पहिलो हाफमा अग्रता लिए पनि इभान पेरिसिचको गोलमा क्रोएसियाले निर्धारित समयमा खेल १-१ को बराबरीमा ल्याएको थियो ।

दोहास्थित अल जुनब रंगशालामा डाइजान मेइडाको गोलमा जापानले पहिलो हाफसम्म १-० को अग्रता लिएको थियो । तर पेरिसिचले दोस्रो हाफको ११औं मिनेटमा बराबरी गोल गरेपछि खेल निर्णयार्थ अतिरिक्त समयमा धकेलिएको थियो ।

मध्यान्तर हुन दुई मिनेट बाँही रहँदा मेइडाले पेनाल्टी बक्सभित्रबाट हुलमुलमा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए ।

रित्सु डोनको क्रसमा पेनाल्टी बक्सभित्र आएको बललाई क्रोएसियाका रक्षकले राम्ररी क्लियर गर्न नसकेको मौकामा मेइडाले सहज गोल गरेका थिए ।

मेइडाको गोलसँगै जारी प्रतियोगितामा जुझारु प्रदर्शन गर्दै आएको जापानले विश्वकप इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुग्ने आशा जगाएको थियो ।

तर, दोस्रो हाफ सुरु भएको ११औं मिनेटमा पेरिसिचले क्रोएसियाका लागि बराबरी गोल गर्दै जापानको लक्ष्यमा धावा बोलेका थिए । डेजान लोभरेनले वायाँ विंग्सबाट गरेको क्रसलाई पेरिसिचले आकर्षका हेडमार्फत गोलमा परिणत गरेका थिए ।

जापानको पहिलो पटक क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई असफल बनाउँदै अगाडि बढेको क्रोएसियाले डिसेम्बर ९ मा हुने क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल र कोरियाले क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ आजै राति नेपाली समयअनुसार १२ः४५ बजे दोहाको रंगशाला ९७४ मा प्रतिस्पर्धा गर्दैछन् ।