अन्तिम १६

सहज जितसहित ब्राजिल क्वार्टरफाइनलमा

दोहा । दक्षिण कोरियामाथि ४-१ को सहज जितसहित ब्राजिलले सोमबार कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

शुक्रबार हुने क्वार्टरफाइनलमा ब्राजिलले गत संस्करणको उपविजेता त्रोएसियाको सामना गर्नेछ । त्रोएसियाले सोमबार जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

स्टेडियम ९७४ मा ब्राजिलले खेलको ३६ मिनेट भित्रै ४-० को अग्रता लिएको थियो । 

सातौं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा ब्राजिलले अग्रता लिएको थियो । १३औं मिनेटमा नेइमारले पेनाल्टीको सदुपयोग गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । 

नेइमार यसै खेलसँगै मैदान फर्किएका हुन् । सर्बियाविरुद्ध समूह चरणको पहिलो खेलमा कुर्कुच्चामा चोट लागेपछि मैदानबाट बाहिरिएका नेइमारले स्विट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाएका थिए ।

२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दैै ब्राजिलको अग्रता ३-० मा पुर्याएका थिए । ३६औं मिनेटमा लुकास पाक्वेटाले ब्राजिलका लागि चौथो गोल गरे ।

७६औं मिनेटमा दक्षिण कोरियाका लागि स्युङ हो पायकले सान्त्वना गोल फर्काए ।