ब्राजिल

विश्वकपका बाँकी खेल गुमाउने डरले धेरै रोएः नेइमार

दोहा । ब्राजिलका नेइमारले कुर्कुच्चाको चोटका कारण कतार विश्वकप २०२२ नै गुमाउने चिन्ताका बीच मैदान फर्कन पाउँदा निकै खुशी भएको बताए ।

सर्बियाविरुद्ध समूह चरणको पहिलो खेलमा कुर्कुच्चामा चोट लागे पछि नेइमार मैदान बाहिर रहँदै आएका थिए । चोटकै कारण उनले समूह चरणमा स्विट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाएका थिए । 

लगातार दुई खेलम अनुपस्थित रहेसँगै नेइमारले विश्वकपका बाँकी खेल गुमाउने सम्भावना बढेको थियो । तर नेइमारले अन्तिम १६ अन्तर्गत सोमबार दक्षिण कोरियाविरुद्धको खेलसँगै मैदानमा पुनरागमन गरे ।८१ मिनेट मैदानमा बिताएका नेइमारले ब्राजिलको ४-१ को सहज जितमा एक गोल समेत गरे । उनले १३औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गरेका थिए ।

दक्षिण कोरियाविरुद्धको जित ब्राजिलले उपचाररत ब्राजिलका लिजेन्ड पेलेलाई समपर्ण  गरेको थियो ।। 

‘मलाई कतार विश्वकपका बाँकी सबै खेल गुमाउँछु भन्ने डर थियो,नेइमारले भने, मैलै धेरै दिन रोएर कटाए । तर चिकित्सक टोलीले मलाई स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेकाले मैदान फर्कन सक्छौ भन्दै मनोबल बढाउने काम गरे । त्यसका लागि उनीहरुप्रति आभारी छु । प्रशिक्षक र टोली सहयात्रीहरुले पनि निरन्तर हौसता बढाइरहे ।’

पाँच पटकको विश्व विजेता ब्राजिलले शुक्रबार हुने क्वार्टरफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।

‘हाम्रो लक्ष्य उपाधि जित्नु हो र हामी त्यसमा सफल हुन्छौ भन्नेमा आशाबादी छु’, नेइमारले भने, ‘यो हामीले कतारमा खेलेको चौथो खेल थियो । उपाधिबाट अब हामी तीन खेल मात्र टाढा छौ ।’

ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो ।