दक्षिण एसियाली छनोट

दक्षिण एसियाली टेबल टेनिस छनोटलाई ‘अनर’ को प्रायोजन

काठमाडौं । विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ ले प्रायोजन गरेको छ । 

मंगलबार अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार ‘अनर’ ले पाँच लाख रुपैंया प्रदान गर्नेछ । मंसिर २२ देखि २५ सम्म आयोजना हुने प्रतियोगिता नेपाली टेबल टेनिस प्रतियोगिता नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै सर्वाधिक ठूलो प्रतियोगिता हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ देशको सहभागिता रहनेछ । 

प्रतियोगितामा छनोट हुने खेलाडीका लागि विश्व च्याम्पियनसिपको बाटो खुल्नेछ । प्रतियोगितामा विश्व वरीयताको उच्च स्थानमा रहेका खेलाडीले सहभागिता जनाउने छन् । प्रायोजक सम्झौताका क्रममा प्रथम उपाध्यक्ष वज्राचार्यले ‘अनर’ को यस कीर्तिमान प्रायोजक अनुबन्धले नेपालमा टेबल टेनिस विकासमा अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे ।