कतार विश्वकप २०२२

जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । इभान पेरिसिचको गोलमा क्रोएसियाले जापानसँग निर्धारित समयमा १-१ को बराबरी खेल्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।

दोहास्थित अल जुनब रंगशालामा डाइजान मेइडाको गोलमा जापानले पहिलो हाफसम्म १-० को अग्रता लिएको थियो । तर पेरिसिचले दोस्रो हाफको ११औं मिनेटमा बराबरी गोल गरेपछि खेल निर्णयार्थ अतिरिक्त समयमा धकेलिएको छ । जारी विश्वकपको नकआउट चरणका पाँचौं खेल जारी रहँदा अतिरिक्त समयमा गएको भने यो पहिलो खेल हो ।

मध्यान्तर हुन दुई मिनेट बाँही रहँदा मेइडाले पेनाल्टी बक्सभित्रबाट हुलमुलमा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए ।

रित्सु डोनको क्रसमा पेनाल्टी बक्सभित्र आएको बललाई क्रोएसियाका रक्षकले राम्ररी क्लियर गर्न नसकेको मौकामा मेइडाले सहज गोल गरेका थिए ।

मेइडाको गोलसँगै जारी प्रतियोगितामा जुझारु प्रदर्शन गर्दै आएको जापानले विश्वकप इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुग्ने आशा जगाएको थियो ।

तर, दोस्रो हाफ सुरु भएको ११औं मिनेटमा पेरिसिचले क्रोएसियाका लागि बराबरी गोल गर्दै जापानको लक्ष्यमा धावा बोलेका थिए । डेजान लोभरेनले वायाँ विंग्सबाट गरेको क्रसलाई पेरिसिचले आकर्षका हेडमार्फत गोलमा परिणत गरेका थिए ।

जारी खेलको विजेताले डिसेम्बर ९ मा हुने क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल र कोरियाले क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ आजै राति नेपाली समयअनुसार १२ः४५ बजे दोहाको रंगशाला ९७४ मा प्रतिस्पर्धा गर्दैछन् ।