कतार विश्वकप २०२२

धर्मराएको स्पेनविरुद्ध जुझारु मोरक्को

काठमाडौं । बेल्जियमको सुनौलो पुस्ता र पछिल्लो संस्करणको उपविजेता क्रोएसियाबाट अपेक्षित प्रदर्शन नहुँदा अफ्रिकी टोली मोरक्कोले समूह ‘एफ’बाट आश्चर्यजनक रुपमा सात अंकसहित विजेताका रुपमा जारी विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

क्रोएसियालाई गोलरहित बराबरीमा रोक्नुका साथै स्टार खेलाडीले भरिपूर्ण बेल्जियममाथि २-० को विजयी नतिजा निकाल्दै अगाडि बढेको मोरक्कोले कतार विश्वकपको अन्तिम १६मा मंगलबार पूर्व विजेता स्पेनको चुनौती सामना गर्नुपर्नेछ ।

समूह चरणको अन्तिम खेलमा क्यानडालाई २-१ ले पराजित गरेको मोरक्को अन्तिम १६ पुग्ने दोस्रो अफ्रिकी टोली हो । सेनेगल आइतबार इङ्ल्यान्डसँग ३-० ले पराजित भएर घर फर्किएसँगै कतार विश्वकपमा अफ्रिकी चुनौती प्रस्तुत गर्न बाँकी मोरक्को एक्लो टोली हो ।

पछिल्ला आठ खेलमा अपराजित मोरक्कोले त्यस अवधिमा जम्मा दुई गोल खाएको छ । वालिद रेग्रागुईको प्रशिक्षणमा रहेको मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने योजनामा हुनेछ । त्यसका लागि टोलीले प्रतिभावान युवा खेलाडीले भरिपूर्ण स्पेनलाई निराश पार्न सक्नुपर्नेछ । त्यसो गर्न सके मोरक्को विश्वपकको एकै संस्करणमा लगातार चार खेल अपराजित रहने पहिलो अफ्रिकी टोली बन्नेछ । यसअघि १९८२ स्पेन विश्वकपमा क्यामरुनले समूह चरणका तीन खेलमा बराबरी खेलेको थियो ।

प्रतिद्धन्द्धी स्पेनले जर्मनी, कोस्टारिका र जापान सम्मिलित ‘ग्रुप अफ डेथ’मा दास्रो स्थान हासिल गरेको थियो । पहिलो खेलमा कोस्टारिकालार्ई ७-० को फराकिलो अन्तरमा हराएको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा जापानसँग २-१ को अप्रत्यारिलो हार बेहोरेको थियो । स्पेनले समूह चरणमा इङ्ल्यान्डसँगै सर्वाधिक ९ गोल गरेको थियो ।

यसरी हेर्ने हो भने कतारमा स्पेनको नतिजा ओरालो लाग्दो अवस्थामा छ । दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको टोलीले क्वार्टरफाइनल पुग्नका लागि पनि त्यो ओराली यात्रालाई उल्टाउनुपर्नेछ ।

पछिल्लो पटक अन्तिम १६ को यात्रा गर्दा मोरक्को र स्पेन दुवैले पराजय भोगेका थिए । मोरक्कोले १९८६ पछि पहिलो पटक अन्तिम १६मा स्थान बनाएको हो । त्यतिबेला मोरक्को पश्चिम जर्मनीसँग १-० ले पराजित भएको थियो । स्पेन भने चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको अन्तिम १६ मा आयोजकसँग टाइ ब्रेकरमा पराजित भएको थियो ।

मोरक्ककोले पछिल्लो समय निक्कै जुझारु प्रदर्शन गर्दै आएको छ । जस्तोसुकै विपक्षीलाई पनि स्तब्ध पार्न सक्ने क्षमता मोरक्कोको टोलीमा छ । मोरक्कोको सबभन्दा बलियो पक्ष भनेको टोलीका खेलाडीले गर्ने उर्जावान प्रदर्शन हो ।

शारीरिक रुपमा पनि भिडेर खेल्ने क्षमता भएको मोरक्कोसँग खेल्न स्पेनलाई त्यति सहज हुनेछैन । त्यसका बावजुद कागजमा हेर्दा एजुकेशन सिटी रंगशालामा हुने खेल अघिसम्म पनि स्पेन नै अन्तिम आठको दाबेदार हो । तर स्पेनलाई अपराजित मोरक्कोसँग सतर्क रहन भने आवश्यक छ ।

पहिलो रोजाइका गोलकिपर यासिन बोनोउले बेल्जियमविरुद्धको खेलअघि अस्वस्थ महसुस गरेका थिए । पहिलो रोजाईमा परेका उनले राष्ट्रिय गान समेत गाएका थिए । तर अन्तिम सेकेन्डमा अश्वस्थताका कारण उनले खेल्न सकेका थिएनन् । समूह चरणको अन्तिम खेलमा क्यानाडाविरुद्ध भने पूरा ९० मिनेट खेल्न सक्षम भएका बोनोउले स्पेनविरुद्ध पनि पहिलो रोजाईबाटै खेल्ने आशा गरिएको छ ।

क्यानाडाविरुद्ध एन नेसिरीले दोस्रो गोल गर्दा असिस्ट गरेका अशरफ हकिमी पनि पूर्ण रुपमा फिट रहने आशा गरिएको छ । केही समययता हकिमीलाई खुट्टाको चोटले सताइरहेको छ । क्यानाडाविरुद्ध हाकिमी जियाच, सोफियान अम्राबात र सोफियान बौफललाई प्रशिक्षक रेग्रागुइले दोस्रो हाफको मध्यान्तरपछि आराम दिएका थिए ।

स्पेनका लागि, मोरक्कोविरुद्धको खेलअघि भएको प्रशिक्षणमा ड्यानी ओल्मो, डेभिड राया र सिजार एज्पिलिक्वेटा अनुपस्थित थिए । तर प्रशिक्षक लुइस इनरिकेले यी खेलाडीहरुलाई आराम दिइएको भनिएको छ ।

यद्धपि एज्पिलिक्वेटाले जापानविरुद्ध दोस्रो हाफको पहिलो मिनेटमै पिडुलाको दुखाइका कारण मैदान छाडेका थिए । जबकी दोस्रो रोजाइका गोलकिपर रायाको अनुपस्थितिको कारण भने अझै स्पष्ट हुन सकेको छैन । तर जापानविरुद्धको खेलमा केही गल्ती गरेका युनाई सिमोनलाई इनरिकेले मौका दिने अनुमान गरिएको छ । ।

कम अनुभव भएका दुई खेलाडी निको विलियम्स र अलेसान्द्रो बाल्डेलाई जापानविरुद्ध सुरुआती एघारमा खेलाएका इनरिकेले अन्तिम १६ मा भने यी खेलाडीको स्थानमा फेरान टोरेस र जोर्डी आल्बाका साथ खेल सुरु गर्ने अपेक्षा गरिएको छ ।

स्पेन र मोरक्कोले अन्तर्राष्ट्रिय फुटबल इतिहासमा अहिलेसम्म एक-अर्कासँग तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित हासिल गरेको छ भने एउटा खेल बराबरीमा टुंगिएको इतिहास छ । चार वर्षअघिको रुस विश्वकपको समूह चरणमा स्पेन र मोरक्कोले २-२ को बराबरी खेलेका थिए ।