कतार विश्वकप २०२२

क्रोएसियामाथि जापानको अग्रता

काठमाडौं । डाइजान मेइडाको गोलमा जापानले क्रोएसियाविरुद्धको विश्वकप अन्तिम १६ खेलमा पहिलो हाफसम्म १-० को अग्रता लिएको छ ।

मध्यान्तर हुन दुई मिनेट बाँही रहँदा मेइडाले पेनाल्टी बक्सभित्रबाट हुलमुलमा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए । रित्सु डोनको क्रसमा पेनाल्टी बक्सभित्र आएको बललाई क्रोएसियाका रक्षकले राम्ररी क्लियर गर्न नसकेको मौकामा मेइडाले सहज गोल गरेका थिए ।

मेइडाको गोलसँगै जापानले विश्वकप इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुग्ने आशा जगाएको छ । जारी विश्वकपमा जुझारु प्रदर्शन गर्दै आएको जापानले पहिलो हाफको यो अग्रता अन्त्यसम्म कायम राख्न सके ब्राजिल वा दक्षिण कोरियामध्ये एकसँग अन्तिम आठमा प्रतिस्पर्धा गर्नेछ । 

पाँच पटकको पूर्व विजेता ब्राजिल र एसियाली महारथी दक्षिण कोरियाबीचको अन्तिम १६ खेल आजै राति १२ः४५ बजे हुँदैछ । ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग जापान र क्रोएसियाबीचको विजेताले डिसेम्बर ९ मा प्रतिस्पर्धा गर्नेछन् ।