अन्तिम १६

फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्दै

दोहा । कतार विश्वकप २०२२ मा आज थप दुई क्वार्टरफाइनल प्रवेश गर्ने टोलीको टुङगो लाग्दैछ । अन्तिम १६ मा आज इङ्ल्यान्ड र सेनेगल तथा पोल्यान्ड र फ्रान्स आमने सामने हुँदैछन् ।

साविकको विजेता फ्रान्स उपाधि रक्षाको लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छ । पोल्यान्डविरुद्धको अन्तिम १६ मा फ्रान्सको प्रदर्शन किलियन एमबाप्पेको गोल लयमा निर्भर हुनेछ । एमबाप्पेल जारी विश्वकपमा तीन गोल गरिसकेका छ ।

समूह एफ को पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदा एक गोल गरेका एमबाप्पेले दोस्रो खेलमा डेनमार्कमाथि २–१ को जित निकाल्दा दुवै गोल गरेका थिए । 

यता पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्यान्डले दोस्रो खेलमा साउदी अरेबियालाई २–० ले हराएको थियो । सो खेलमा पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोवस्कीले टोलीका लागि गरेको दोस्रो गोल नै उनीहरुको अन्तिम १६ का लागि महत्वपूर्ण बन्यो । जुन गोल उनका लागि विश्वकपकै पहिलो गोल थियो । अन्तिम खेलमा अर्जेन्टिनालाई २–० को नतिजा सुम्पिए पनि पोल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । पोल्यान्डले समान अंक भए पनि मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो । त्यसैले पोल्यान्डको क्वार्टरफाइनलको लक्ष्य लेवान्डोवस्कीको लयमा निर्भर हुनेछ । 

यता इङ्ल्यान्ड जारी विश्वकपमा उच्च गोल लयमा रहेको छ । समूह बी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डले तीन खेलमा नौ गोल गरेको थियो ।  इङ्ल्यान्ड सेनेगलको सामना गर्दा सोही गोल लय कायम राख्न चाहन्छ ।

पहिलो खेलमा इरानमाथि ६–२ को जित निकालेको इङ्ल्यान्डले दोस्रो खेलमा अमेरिकासँग अंक बाँडेको थियो । तेस्रो खेलमा इङ्लयन्डले वेल्सलाई ३–० ले हराएको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई नतिजा सुम्पिए पनि त्यसपछिको दुई खेलमा क्रमशः कतार र इक्वेडरलाई निराश पारेको सेनेगल गारेथ साउथगेटको टोलीका लागि कठिन प्रतिद्धन्द्धी हो ।

वेल्सविरुद्धको खेलमा अवसर पाएका फिल फोडिनबाट साउथगेटको टोलीले धेरै आशा राखेको छ । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीबाट यस सिजन उत्कृष्ट लयमा रहेका फोडिनले वेल्सविरुद्धको खेलमा खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए । त्यसैले सेनेगल पनि इङ्ल्यान्डका प्रमुख खेलाडी हुनेछन् ।