महिला रेफ्री

फरक उपलब्धीको संघारमा फ्रापार्ट

दोहा । फ्रान्सकी स्टेफानी फ्रापार्ट पुरुष विश्वकप फुटबलको ९२ वर्षका इतिहासमा खेल खेलाउने पहिलो महिला रेफी बन्दैछिन् ।

नेपाली समय अनुसार राति १२ः४५ बजे हुने कोस्टारिका र जर्मनी बीचको खेल फ्रापार्टले खेलाउन लागेकी हुन् ।

अल बायात रंगशालामा फ्रापार्टले  इतिहास रच्दै गर्दा उनलाई सहायक महिला रेफ्रीहरुद्वय ब्राजिलका न्युजा ब्याक र मेक्सिकोका करेन डियाज मेडिनाले साथ दिनेछन् ।

३८ वर्षिया फ्रापार्टले यसअघि मेक्सिको र पोल्यान्ड बीचको खेलमा फोर्थ अफिसियलको जिम्मेवारी निभाएकी थिइन ।

फ्रापार्ट फ्रेन्च लिग वान र युइएफा च्याम्पियन्स लिगको पनि पहिलो महिला रेफ्री थिइन ।

‘पुरुष विश्वकप विश्वकै एकदमै महत्वपूर्ण खेलकुद प्रतियोगिता हो । फ्रान्स र युरोपमा म पहिलो महिला रेफ्री थिएँ । त्यसैले मलाई यो जिम्मेवारीलाई कसरी निभाउने भन्ने थाहा छ,’ फ्रापार्टले भनिन् ।

फ्रापार्ट कतार विश्वकपमा एकमात्र महिला रेफ्री भने होइनन् । जापानी  यामासीता योसिमी र रुवाण्डाका सलिमा मुकनसांगाले पनि कतारमा खेल खेलाउदैछन् । कतार विश्वकपमा तीन महिला रेफ्री र ४ सहायक महिला रेफ्री छनोट गरिएको थियो ।