एक दिवसीय क्रिकेट

२०२३ को एक दिवसीय विश्वकपसम्म टोलीमा फर्कने स्टोक्सको संकेत

लन्डन । इङल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले एक दिवसीय क्रिकेटमा फर्कन हतार नभएको बताएका छन ।

यद्धपी स्टोक्सले सन् २०२३ को एक दिवसीय  क्रिकेट विश्वकपसम्ममा टोलीमा फर्कने सम्भावना भने कायमै रहेको बताएका छन् ।

जुलाईमा स्टोक्सले टेस्ट र ट्वान्टी२० क्रिकेटमा केन्द्रित हुने भन्दै  एक दिवसीय क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएका थिए ।

स्टोक्सकै प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले गत महिना मात्र पाकिस्तानलाई हराउदै ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

सन् २०१९ मा इङल्यान्डले स्टोक्सकै प्रेरणामा न्युजिल्यान्डलाई स्तब्ध पार्दै एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको थियो । 

मैले टेस्ट र ट्वान्टी२० क्रिकेटमा केन्द्रित हुन एक दिवसीय क्रिकेटबाट विश्राम लिएको हुँ,स्टोक्सले भने, म अहिले पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा केन्द्रित छु । मैले केही समय विश्राम लिएको हुँ । यसको मतलब म अगामी वर्ष हुने एक दिवसीय क्रिकेट विश्वकपमा इङल्यान्डको उपाधि रक्षाको अभियानमा साथ हुन्न भन्ने होइन । म टोलीमा फर्कन पनि सक्छु ।