वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीको फाइनल प्रवेश सम्भावना कायमै

काठमाडौं । लुम्बिनी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जितसँगै शीर्ष दुईमा बस्दै फाइनल प्रवेशको सम्भावना कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिभिुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश एकलाई ६ विकेटले हरायो ।

प्रदेश एकले प्रस्तुत गरेको ७० रनको लक्ष्य लम्बिनीले १६ ओभरमा चार विकेट गुमाउँदै पुरा गर्यो । लुम्बिनीका लागि देव खनालले १९,आकाश त्रिपाठीले १७ र प्रज्वल थापाले १५ रन जोडे ।

प्रदेश एकका लागि दीपेश कँडेलले तीन र विपिन महतोले एक विकेट लिए । 

५ खेलमा १० अंक जोडेको शीर्ष स्थानको सुदुरपश्चिम प्रदेश यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । दोस्रो स्थानको  बागमती र तेस्रो स्थानको लुम्बिनीको समान आठ अंक छ । 

यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश एकले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनको योगफल तयार पारेको थियो । 

प्रदेश एकका लागि सुभन गहतराजले २२ र इस्टेन रिजालले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि निर्मल गुरुङले पाँच, दुर्गेश गुप्ताले दुई तथा अभिषेक गौतम र तुलबहादुर थापाले समान एक विकेट लिए ।