कतार विश्वकप २०२२

क्रोएसियासँग पराजित भएसँगै क्यानाडा विश्वकपबाट बाहिरियो

काठमाडौं । आन्द्रेज क्रामारिचको दुई गोलप्रेरित क्रोएसियासँग ४-१ को नतिजामा पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ ।

क्रामारिचले क्रोएसियाका लागि मारियो मान्डजुकिचपछि विश्वकपको एकै खेलमा दुई गोल गर्ने सफलता हासिल गरेपछि क्रोएसियाले क्यानाडामाथि रवाफिलो जित हासिल गर्दै प्रतियोगितामा आइतबार निस्किएका अनपेक्षित नतिजाको शृंखलामा विराम लगाएको थियो ।

समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० को नतिजामा हराएलगत्तैको खेलमा क्रोएसिया भने क्यानाडासँग स्तब्ध हुनबाट जोगियो ।

आइतबारै त्यसअघि समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापानमाथि १-० को जित हासिल गरेको थियो ।

अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले दोस्रो मिनेटमै गोल गरेपछि साविक उपविजेता क्रोएसिया पनि जापान र बेल्जियमसँगै आइतबार अनपेक्षित नतिजाको सिकार हुने संकेत देखिएको थियो । डेविसले टाजोन बुचनानको पासमा जारी विश्वकपमा क्यानाडाको पहिलो गोल गरेका थिए ।

तर, क्रामारिचले ३६औं मिनेटमा इभान पेरिसिचले मिलाएको अवसरलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा जोसिप जुरानोभिचको पासलाई मार्को लिभाजाले गोलमा परिणत गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए ।

क्यानाडाले निरन्तर खतरनाक मुभहरु सिर्जना गरिरहेको खेलमा समय सकिन २० मिनेट बाँकी रहँदा क्रामारिचले दोस्रो व्यक्तिगत गोल गरेपछि क्रोएसियाको जित पक्का भएको थियो । क्रामारिचले दोस्रो गोलमा पनि पेरिसिचकै क्रस उपयोग गरेका थिए ।

इन्जुरी समयको चौथो मिनेटमा लोभरो मायरले गोल गर्दै क्रोएसियाको जित अन्तर थप फराकिलो पारे । मायरले मिस्लाभ ओर्सिचको छरितो पासलाई गोलमा परिणत गर्दै क्रोएसियाको जित थप प्रभावशाली बनाएका थिए ।

यो नतिजापछि दुई खेलको समाप्तीमा समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन् । बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन ।

समूह चरणको पहिलो खेलमा क्यानाडा बेल्जियमसँग १-० को नतिजामा पराजित भएको थियो भने क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

लगातार दोस्रो हारसँगै क्यानाडा समूह चरणबाटै बाहिरिएपछि समूह ‘एफ’बाट नकआउट चरण पुग्ने प्रतिस्पर्धामा क्रोएसिया, मोरक्को र बेल्जियम बाँकी रहेका छन् । तीन मध्ये अन्तिम १६ पुग्ने दुई टोलीको टुंगो डिसेम्बर एकमा हुने अन्तिम खेलले लगाउनेछन् । समूहको अन्तिम खेलमा क्यानाडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् ।