कतार विश्वकप २०२२

पहिलो खेलमै जर्मनीलाई झट्का, जापानको विजयी सुरुआत

काठमाडौं । चार पटकको पूर्व च्याम्पियन जर्मनी विश्वकपको प्रतिस्पर्धामा फेरि एक पटक एसियाली प्रतिद्धन्द्धीको सिकार भएको छ ।

दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा युरोपेली महारथी जर्मनी बुधबार जापानसँग २-१ को नतिजामा पराजित भयो  । इके गुन्डोगानको गोलमा जर्मनीले कतार विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा जापानविरुद्ध मध्यान्तरसम्म १-० को अग्रता लिएको थियो ।

समूह ‘ई’ अन्तर्गत दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जापानी गोलकिपर सुइची गोन्डाले डेविड राउमलाई लडाएवापत प्राप्त पेनाल्टीमा जर्मनीका लागि गुन्डोगानले गोल गर्दै ३४औं मिनेटमा अग्रता दिलाएका थिए ।

तर, दुई बैकल्पिक खेलाडी रिट्सु डोन र ताइकु आसानोले गोल गरेपछि एसियाली महारथी विश्वकपमा विजयी सुरुआत गर्न सफल भयो ।

डोनले मैदान प्रवेश गरेको चार मिनेट नबित्दै ७५औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । ताकुमी मिनामिनोको प्रहार जर्मन गोलकिपर म्यानुअल नुयुरले जोगाएका थिए । तर रिबाउन्डमा प्राप्त अवसरलाई डोनले गोलमा परिणत गरेका थिए ।

गोल गर्नुभन्दा चार मिनेट अगाडि उनी आवो तानाकालाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

यसैगरी अर्का बैकल्पिक खेलाडी आसानोले समय सकिन सात मिनेट बाँकी रहँदा उत्कृष्ट गोल गर्दै जापानलाई जित दिलाए । उनले को इटाकुराको पासमा एक्लै बल अगाडि बढाएर गोल गरेका थिए ।

आसानो ५७औं मिनेटमा डाइजेन मेइडालाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा काई हार्भाट्जको गोलमा जर्मनीले इन्जुरी समयमा अग्रता दोब्बर पारेको थियो । तर भिडियो सहायक रेफ्री (भिएआर)ले उनी अफसाइड पोजिसनमा रहेको देखाएपछि जर्मनीको गोल अस्वीकृत भएको थियो ।

चर्को प्रतिस्पर्धा भएको खेलमा जापानले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो । तर एसियाली टोलीका डाइची कामाडा, जुन्या इटो, डाइजेन मेइडा, ताकेहिरो तोमियासु र को इटाकुराले सहज अवसरहरुलाई पनि गोलमा परिणत गर्न नसक्दा टोली अग्रता फराकिलो पार्नबाट चुक्यो ।

जर्मनीले पनि खेलमा आधा दर्जनभन्दा बढि अवसर सिर्जना गरेको थियो । तर जापानी गोलकिपर सुइची गोन्डा बाधक बन्दा जर्मनीका थोमस मुलर, लियोन गोरेज्का, गुन्डोगान, सेर्गी जिनाब्री र जेसुआ किमिचलगायतका खेलाडी अग्रता बढाउन सफल भएनन् ।

चार वर्षअघि रुसमा साविक विजेताको हैसियतमा पुग्दा जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १-० ले निराश भएको थियो । दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराए पनि अन्तिम खेलमा दक्षिण कोरियासँग २-० को नतिजामा निराश हुँदा टोलीको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।

समूह ‘ई’अन्तर्गतको अर्को खेलमा आजै राति ९ः४५ बजे पूर्व च्याम्पियन स्पेन र कोस्टारिकाबीच खेल हुनेछ ।

समूहको दोस्रो खेलअन्तर्गत आइतबार जर्मनीले युरोपेली प्रीतद्धन्द्धी स्पेन तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।