नेपाली फुटबल

अन्तिम सुनौलो अध्यायको मौकामा रोनाल्डो र मेसी

काठमाडौं । सम्भवतः विश्वकप फुटबलले पाएका सर्वकालीन महान् खेलाडीमध्ये दुई र आफ्नो पुस्ताका उत्कृष्टद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आमनेसामने हुने ठूलो प्रतियोगिता हो विश्वकप २०२२ ।

निश्चय नै पहिलो पटक जाडोयाममा हुन लागेको कतार विश्वकप दुवै खेलाडीका लािग फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने अन्तिम मौका हुनसक्छ । जतिसुकै मिहिनेत गरे पनि विश्वकपको अर्को संस्करणमा उनीहरूको उपस्थिति यथार्थपरक देखिँदैन । किनभने २०२६ को विश्वकपसम्म रोनाल्डो ४१ र मेसी ३९ वर्ष उमेरका भइसक्ने छन् ।

महान् फुटबलरको दर्जा यही मञ्चमा हासिल गरेको सफलताका कारण ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनाले हासिल गरेका हुन् । पेले र म्याराडोना मात्रै अहिले रोनाल्डो र मेसीको तुलनामा सँगसँगै वा अगाडि छन् । कारण विश्वकपको सफलता नै हो ।

पेलेले तीन पटक ब्राजिलका लागि विश्वकप जित्दा म्याराडोनाले १९८६ मा आफ्नै बलबुतामा अर्जेन्टिनलाई च्याम्पियन बनाएका थिए । उनीहरूले आफ्नो बेलामा गरेको व्यक्तिगत प्रदर्शन अझै पनि विश्वकप इतिहासमा ताजै छ ।

उनीहरूको त्यो सफलतासँग बराबरी गर्न वा उछिन्न अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोले करियरभर प्रयास गरिरहेका छन् । र, अन्तिम मौका अब उनीहरू सामुन्ने छ, कतार विश्वकप २०२२ ।

आफ्नो पुस्ताका यी दुई फुटबलरले १२ बालोन डी’अर, ९ च्याम्पियन्स लिग, १८ वटा लिग र यस्ता कयौं सफलता बाँडेका छन् । तर, यो सफलतामा विश्वकप समेट्नु अहिले दुवै खेलाडीको पहिलो र सम्भवतः अन्तिम प्राथमिकता हो ।

मेसीले भर्खरै मात्र आफू सधैं रहन नसक्ने स्वीकारेका छन् । ‘म ३५ वर्षको उमेरमा पनि विश्वकपमा हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छु,’ उनले अक्टोबरमा भनेका थिए, ‘यो विश्वकपपछि म आफ्नो करियरबारे निर्णय लिन्छु ।’

यद्यपि रोनाल्डो युनाइटेडमै रहन बाध्य भएकाले करियरको अस्तव्यस्त अवस्थामा राष्ट्रिय टिम लिएर कतार पुग्नेछन् । गत महिना टोटेनहमविरुद्धको खेलमा सब्स्टिच्युट भएर मैदान प्रवेश गर्न अस्वीकार गरेपछि कारबाहीस्वरुप उनलाई टिमबाट बाहिर राखिएका थिए । जसका कारण युनाइटेडमा एक्लै टे«निङसमेत गर्नुपरेको थियो  ।

यो अवस्थामा रोनाल्डो कस्तो मानसिक वा शारीरिक अवस्थाबाट गुज्रिइरहेका छन् भन्ने अनुमान गर्न कठिन छ । र, कुन अवस्थामा विश्वकपको मञ्चमा उत्रन्छन्, त्यो हेर्न बाँकी नै छ ।

त्यसैगरी करियरको उत्तराद्र्धमा पुगेका खेलाडीले भर्खरै पार गरेको कोसेढुंगाका कारण टिममा नराख्न पनि सम्भव छैन । रोनाल्डोले आफ्नो करियरमा हालै सात सय गोल गरेका छन् ।

उनका निकट प्रतिद्वन्द्वी मेसी पनि करियरको किनारामा पुग्दै छन् । बार्सिलोनामा रहँदाको उत्कृष्ट लय दोहोर्याउन नसके पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)मा दोस्रो सिजन उनलाई फेरि गोलले पछ्याइरहेका छन् ।

दुवै खेलाडीले विश्वकपमा गर्ने प्रदर्शनले उनीहरूले आफ्नो शरीरको हेरचाह कसरी गरेका छन् भन्ने निर्धारण गर्नेछ ।

इङ्ल्यान्डका पूर्व फिजियोथेरापिस्ट डेभ हानोक अमेरिकी खेलाडीहरूले अपनाउने तरिका नै अरू फुटबलरहरूले पनि अनुशरण गरेको बताउँछन् ।

‘तपाईंले अमेरिकी खेलकुदमा त्यो धेरै देख्नुहुन्छ,’ हानोकले भनेका छन्, ‘पछिल्लो समय मानिसहरू केभिन डुरान्ट र साक्वोन बारक्लीले व्यक्तिगत ट्रेनर राखिरहेका छन् ।’

‘यदि तपाईं टम ब्राडीलाई हेर्नुहुन्छ भने उनी ४५ वर्षका भए,’ उनले भने, ‘उनी आफैंले ट्रेनर राखेका छन्, किनभने उनीहरूलाई थाहा छ, जति लामो समय खेल्यो, त्यति नै पैसा कमाइ हुन्छ ।’

मेसी र रोनाल्डो दुई फरक प्रकृतिका खेलाडी भए पनि तन्दुरुस्त रहन एउटै तरिका अपनाउने पनि हानोकले बताए ।

‘उनीहरू नितान्त फरक प्रवृत्तिका खेलाडी हुन्, उनीहरू शारीरिक रूपमा भने फरक छन्,’ उनले भने, ‘उनीहरू लामो समयदेखि माथिल्लो स्तरमा खेलिरहेका छन् । उनीहरूले बुझेका छन्, जिममा के गर्ने, के हेर्ने, के खाने र कुन समयमा कसरी सुत्ने ?’

फेरि एउटा फुटबलको सबैभन्दा ठूलो उपाधिले लुकामारी खेल्यो भने त्यसले न रोनाल्डो न मेसीको बयान गर्नेछ । किनभने समय परिवर्तन भइसकेको छ । क्लबका प्रतियोगिताहरूले खेलाडीको लोकप्रियता र प्रोफाइलको हकमा अन्तर्राष्ट्रिय प्रतियोगितालाई छायाँमा पारेका छन् । जसका कारण च्याम्पियन्स लिग र प्रिमियर लिग जस्ता प्रतियोगिताहरूको सफलता हो ।

विश्वभरका समर्थकले कम्तीमा प्रत्येक हप्ता रोनाल्डो र मेसीको जादु हेर्न पाउँछन् । जुन पेले र म्याराडोनाको समयमा थिएन ।

बार्सिलोना र रियाल मड्रिडमा रोनाल्डो र मेसीको जस्तो प्रतिद्वन्द्विता खेलजगतले देखेको थिएन । अझ बालोन डी’अरको सन्दर्भमा हेर्ने हो भने विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड एक दशकभन्दा धेरै समयसम्म यिनै दुई खेलाडीको पेवाझैं भएको थियो ।

उनीहरूले क्लबमा हासिल गरेको सफलताको महत्त्व अझै फराकिलो बनाउन अन्तर्राष्ट्रिय सफलताको माग सधैं हुने गरेको छ । लामो समयदेखिको अन्तर्राष्ट्रिय सफलताको बहस रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियन बनाएर कम गरेका थिए ।

गत वर्ष मेसीले पनि आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई कोपा अमेरिका च्याम्पियन बनाएर राहतको श्वास फेरेका थिए ।

तर विश्वकप नै हो दुवैले सबैभन्दा धेरै जित्न चाहेको । र, यिनै दुईमध्ये एकका लागि करियरमा कथाको अन्तिम अध्याय सुनौलो अक्षरले लेख्ने मौका बन्न सक्छ ।