इन्डियन प्रिमियर लिग

दिल्लीको पहिलो जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गरेको छ । विशाखापटनममा आइतबार दिल्लीले चेन्नई सुपर किंगलाई २० रनले हरायो ।

जितसँगै दिल्लीले तीन खेलमा दुई अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको चेन्नईको समान खेलबाट चार अंक छ ।

दिल्लीले प्रस्तुत गरेको १९२ रनको लक्ष्यप छ्याएको चेन्नईले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १७१ रन मात्र जोड्न सक्यो ।

चेन्नईका लागि अजिंक्या रहानेले ४५, महेन्द्रसिंह धोनीले अविजित ३७, ड्यारिल मिचेलले ३४, रविन्द्र जडेजाले अविजित २१ र शिवम दुबेले १८ रन बनाए ।

तेस्रो विकेटका लागि रहाने र  मिचेलले ६८ रनको साझेदारी गरे । दिल्लीका लागि मुकेश कुमारले तीन, खलिल अहमदले दुई र अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा  पाँच विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्यो ।

दिल्लीका लागि डेविड वार्नरले ३५ बलमा ५ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी कप्तान ऋषभ पन्तले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले ५१, पृथ्वी शाले ४३ र मिचेल मार्शले १८ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र शाले ९३ रनको साझेदारी गरे । चेन्नईका लागि मथिसा पथिरानाले  तीन तथा रविन्द्र जडेजा र मुस्तिाफिजुर रहमानले समान एक विकेट लिए ।