टाइगर कप भलिबल प्रतियोगिता

न्यु डायमन्ड र एपिएफको विजयी सुरुआत

काठमाडौं । चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब र विभागीय टोली नेपाल एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगिताको चाैथो संस्करणमा महिलातर्फ विजयी सुरुआत गरेका छन् ।

पोखरा रंगशालाको कोर्टमा सोमबार सम्पन्न दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा स्तब्ध बनायो ।

सुरुआती दुई सेट २५-२० र २५-१७ ले आफ्नो पक्षमा पारेको न्यु डायन्डले तेस्रो सेट भने २३-२५ ले गुमाउन पुगेको थियो । न्यु डायमन्डले चौथो सेटमा २५-१५ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।

जितसँगै समूह ‘बी’ को न्यु डायमन्डले तीन अंक जोड्दा आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यसैगरी सोमबार नै सम्पन्न निकै रोमाञ्चक विभागीय डर्बीमा साविक विजेता एपिएफले नेपाल पुलिस क्लबमाथि ३-२ सेटको जित निकाल्यो ।

सुरुआती दुई सेट समान २५-१८ ले आफ्नो पक्षमा पारेको एपिएफले त्यसपछिका दुई सेट १९-२५ र १८-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा एपिएफ १५-१३ ले विजयी भयो । जितसँगै समूह ‘ए’ को एपिएफले दुई अंक जोडेको छ । पराजित भएपनि पुलिसले एक अंक प्राप्त गरेको छ ।