काभा च्यालेन्ज कप

काभा च्यालेन्ज कपः अफगानिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अफगानिस्तानको सामना गर्दैछ ।

खेल कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा नेपाली समयअनुसार १ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघिका २ खेलमा समान १ जित र हारको नतिजा निकालेको छ । पहिलो खेलमा बंगालादेशलाई ३-१ को सेटमा हराएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग ३-० को सोझो सेटमा स्तब्ध बनेको थियो ।

नेपालले मंगलबार श्रीलंकासँगको खेल २४-२६, १८-२५, १६-२५ ले गुमाएको हो ।

यता अफगानिस्तान भने लगातार तेस्रो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-२ तथा दोस्रो खेलमा बंगालदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।

अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।