आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्ककपः पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं । विकेटकिपर मोहम्मद रिजवान र ओपनर अब्दुल्लाह शफिकको शतकप्रेरित पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकपमा श्रीलंकामाथि ६ विकेटको कीर्तिमानी जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानले विश्वकप इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पूरा गरेको हो ।

भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार श्रीलंकाले प्रस्तुत गरेको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

यसअघि आयरल्यान्डले सन् २०११ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध पूरा गरेको ३ सय ३९ रनको लक्ष्य सबैभन्दा ठूलो थियो ।

पाकिस्तानका लागि रिजवानले १ सय २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले अविजित १ सय ३१ रनको योगदान गरे । यसैगरी शफिक १सय ३ बलमा १० चौका र ३ छक्काको मद्दतले १ सय १३, सउद सकिलले ३१, इफ्तिकर अहमदले अविजित २२, इमान उल हकले १२ र कप्तान बाबर आजमले १० रन बनाए । 


रिजवानले तेस्रो विकेटका लागि  शफिकसँग तेस्रो विकेटका लागि १ सय ७६ रन तथा चौथो विकेटका लाथि साउदसँग ९५ रनको साझेदारी गरे ।

श्रीलंकाका लागि दिलशन मदुशनकाले २, महेश थिक्सना र मथिसा पाथिरानाले समान १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४४ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतले सर्वाधिक १ सय २२ रनको योगदान गरे । यसैगरी समराविक्रमाले ८९ बलमा ११ चौका र २ छक्काको मद्दतले १ सय ८, पाथुम निसन्काले ६१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५१ र धनन्नजय डि सिल्भाले २५, कप्तान दासुन सनकाले १२ र दुनिथ विलागेले अविजित १० रन बनाए ।

मेन्डिसले तेस्रो विकेटका लागि समराविक्रमासँग १ सय ११ र दोस्रो विकेटका लागि निसन्कासँग १ सय २ रन तथा समराविक्रमाले डि सिल्भासँग पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि हसन अलीले ४, हरिस रौफले २ तथा शाहिन शाह अफ्रिदी, मोहम्मद नवाज र शादब खान समान १ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले स्तब्ध बनेको थियो ।