एनएसएल

पूर्व कप्तान राकेश काठमाडौंमै निरन्तर

काठमाडौंं । साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपरल लिग (एनएसएल) दोस्रो संस्करणको लागि साहायक प्रशिक्षकमा रोकश श्रेष्ठसँग सम्झौता नविकरण गरेको छ ।

श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हुन् । उनले नेपालको यु१५ टोलीको प्रशिक्षण समेत गरेका छन् । पछिल्लो पटक काठमाठौं च्याम्पियन हुँदा श्रेष्ठ टोलीसाथ थिए ।

‘पहिलो संस्करण टोलीलाई विजेता गराउन सफल भूमिका खेल्नुभएका पूर्व कप्तान श्रेष्ठलाई पुनः आवद्ध गर्न पाउँदा खुसी छौं,’ काठमाडौंका ब्यवस्थापक मधुसुदन उपाध्यायले भनेका छन् ।

पहिलो सिजन धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्सले उपाधि उचालेको थियो । मंगलबार मात्रै टोलीले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ ।

काठमाडौंको मार्की खेलाडीको रूपमा युवा स्ट्राइकर हिसुब थपलिया छन् । उनी एनएसएलमा डेब्य गर्ने तरखरमा छन् ।

काठमाडौंमा हिसुवसँगै कुलदीप कार्की, जियारथ शेख, राजिव लोप्चान, अमित तामाङ, महेन्द्र कार्की, खामिर गिल्सान, प्रशान्त अवस्थी, राजाबाबु थापा, सुशिल कुमार यादव, रोहन खड्गी, मौसम सुब्बा, दिपेश गुरुङ, अञ्जन राई र अभिषेक बराल छन् ।

गत सिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले इलाम एफसीको सामना गर्नेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

पहिलो संस्करणका साबिक विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।