काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ दौरान त्रिभुवन आर्मी क्लबका स्ट्राइकर दिनेश हेम्जनको खुट्टामा लागेको चोट महँगो साबित भयो । एसियल इन्जुरीको शल्यक्रिया गर्नुपरेका कारण दिनेश तत्काल मैदान फर्कने वातावरण बनेन ।
त्यसो त नेपाली फुटबलको बागडोर सम्हालिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु फुटबललाई व्यावसायिक बनाउने नारा घन्काएको दशक बिते पनि फुटबलले व्यावसायिकता हासिल गर्न सकेको छैन । ‘ए’ डिभिजन लिग र मोफसलमा हुने गोल्डकप नै नेपाली फुटबल खेलाडीको जीविकोपार्जनको मुख्य स्रोत हो ।
व्यावसायिक घराना चौधरी ग्रुप पहिलो पटक नेपाल सुपर लिग (एनएसएल)मार्फत नेपाली फुटबलमा भित्रिँदै थियो । चोटकै कारण दिनेशले एनएसएल अक्सनमा नाम दर्ता गर्न पाएनन् ।
‘मैले एसियल इन्जुरीको शल्यक्रिया गर्नुपरेको कारण एनएसएलको पहिलो सिजन खेल्न पाइनँ । गत वर्ष नै दोस्रो सिजन हुने कुरा थियो । प्रतियोगिता खेल्न उत्साही थिएँ तर विभिन्न कारणले त्यो सम्भव भएन,’ दिनेशले सुनाए, ‘एउटा खेलाडीका लागि मैदान बाहिर बसेर खेल हेर्नु निकै पीडादायी हुँदोरहेछ । मैले एनएसएलको पहिलो सिजन मैदान बाहिर हुनुको पीडा सहेँ ।’
दिनेशले एनएसएलको दोस्रो सिजन ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरिरहेका छन् । चोटका कारण पहिलोे सिजन गुमाएका दिनेश एनएसएलमा आफ्नो पहिलो सिजनमै उपाधि जित्नेमा विश्वस्त छन् ।
६ खेलको समाप्तिमा ललितपुर २ जित र ४ बराबरीको नतिजापछि १० अंकसाथ दोस्रो स्थानमा छ । ललितपुर जारी सिजन एनएसएलमा अपराजित दुई टोलीमध्ये एक हो । पहिलो संस्करणको उपविजेता धनगढी एफसी पनि यस सिजन अपराजित छ ।
६ वटै खेलमा पहिलो रोजाइमै मौका पाएका दिनेशले ५ सय २५ मिनेट मैदानमा बिताउँदा १ गोल गरेका छन् । चार खेल पूरा समय खेल्दा दिनेशले पहिलो खेलमा बुटवल लुम्बिनीविरुद्ध गोल गरेका थिए ।
‘ललितपुर सिटीको टिम राम्रो बनेको छ । टिम सन्तुलन मिलेको छ । हामीले लिगको ५ खेलसम्म अपराजित यात्रा कायम राख्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेका छौं,’ दिनेशले भने, ‘टोलीको उपाधि यात्रामा योगदान दिन पाउँदा मलाई खुसी लागेको छ । यस प्रतियोगितामा गरेको प्रदर्शनले नेपाली राष्ट्रिय फुटबल टोलीमा मेरो स्थान थप सुरक्षित हुने विश्वास लिएको छु ।’
दिनेशले यसै वर्ष म्यानमारविरुद्धको मैत्रिपूर्ण खेलमार्फत नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई हराएको नेपालले दोस्रो चरणमा भने यमन र युएईलाई नतिजा सुम्पिएको थियो । दिनेशले छनोट चरणअन्तर्गत यमन र युएईविरुद्ध खेलका लागि टोलीमा स्थान बनाएका थिए ।
ललितपुरले पहिलो संस्करणमा प्लेअफसम्म यात्रा तय गरेको थियो । नेपाली राष्ट्रिय टोलीका अनुभवी रक्षक अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर यस सिजन भने उपाधिको मुख्य दाबेदारको रूपमा छ ।
धनुषा धारापानीका दिनेश कसैको खेल देखर भन्दा पनि साथीभाइको लहैलहैमा लागेर फुटबलतर्फ आकर्षित भएका थिए ।
‘यस खेलमा यही खेलाडी मेरो आइडल भन्ने छैन । म साथीभाइसँग फुटबल खेल्दै यस खेलप्रति आकर्षित भएको थिएँ,’ दिनेश सम्झन्छन्, ‘यस खेलप्रतिको आकर्षणकै कारण यसमा लागे । २०७३ सालमा धनुषा जिल्ला फुटबल संघले साफ यु-१६ को छनोटलाई खेलाडी छनोट गरेको थियो ।
‘जिल्ला छनोट पार गर्दै म एन्फा एकेडेमीको यु-१६ टोलीमा स्थान बनाउन सफल भएँ । बंगलादेशमा तय भएको साफ यु-१६ साफ च्याम्पियनसिपका लागि टोलीमा परे पनि मैदान उत्रने अवसर पाइनँ । सोही वर्ष सम्पन्न एएफसी यु-१६ छनोटमा भने मैले टोलीमा स्थान बनाएँ र सबै खेल खेलें । सो प्रतियोगितमा मैले एक गोलसमेत गरेको थिएँ । हामीले छनोट चरण पार गरे पनि टोलीमा केही बढी उमेरका खेलाडी भएका कारण हामी अयोग्य भयौं ।’
साफ यु-१६ च्याम्पियनसिप र एएफसी यु-१६ छनोट खेलेर धनुषा फर्किएका दिनेश २०७४ मा ललित स्मृति यु-१८ प्रतियोगिताका लागि आर्मी क्लबमा छनोट भए । आर्मी त्यो संस्करणमा प्रतियोगिता विजेता बन्यो । युवा टोलीमा गरेको उत्कृष्ट प्रदर्शनसँगै उनले आर्मीको सिनियर टोलीबाट पनि अवसर पाएका थिए ।
२०७४ सालको काँकडभिट्टा झापा गोल्डकपसँगै उनले आर्मीको सिनियर टोलीबाट ‘डेब्यु’ अवसर पाए । त्यसयता उनी निरन्तर आर्मी क्लबबाट खेलिरहेका छन् । आर्मी पछिल्लो दुई संस्करण ‘ए’ डिभिजन लिगको उपविजेता बन्दा उनी टोलीका प्रमुख खेलाडी थिए । यस संस्करणमा भने आर्मीले सन्तोषजनक प्रदर्शन गर्न सकेन ।
‘आर्मीको टोली यस संस्करणमा पनि राम्रो थियो तर हामीले नतिजा राम्रो दिन सकेनौं,’ दिनेशले सुनाए, ‘आशा छ नयाँ सिजनमा टोली स्वाभाविक लयमा फर्कने छ ।’
शनिबारको अन्य स्टोरी सन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्मनेपाल सुपर लिगः यसकारण विशेष छधन्न १ पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’यु–१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छएउटै नियतिमा म्यानचेस्टर र न्युकासलअन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’