टेबल टेनिस

अन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’

काठमाडौं । पाटनढोकाबाट तलतिर झरेपछि चाकुपाट क्षेत्र सुरु हुन्छ । त्यहाँबाट ५० मिटर तल झरेपछि पुगिन्छ ऐतिहासिक खोल्चा पुखुः । खोल्चा पुखुः अर्थात् ओरालोको पोखरी ।

एक समयको चर्चित खोल्चा पुखुः समयक्रम र बढेको बस्तीपछि छायाँमा पर्दै गएको थियो । गत साता खोल्चा पुखुःको चर्चा फेरि एक पटक चुलियो । कारण थियो, रात्रिकालीन मेयर कप टेबलटेनिस प्रतियोगिताको आयोजना ।

पुखुः छेउमा रहेको ललितपुर इन्जिनियरिङ कलेजमा टेबलटेनिसको स्टेज सजाइएको थियो । अनि त्यहाँ झुम्मिए ललितपुर उपमहानगरपालिकाका २९ वडाका टेबल टेनिसप्रेमी, खेलाडी, खेल प्रशंसक अनि परिवारका सदस्यहरू ।

पुरुष एकलमा वडा ७ का एलेक्स महर्जन र महिला एकलमा वडा १६ की अंकिता वज्राचार्यलाई च्याम्पियन बनाउँदै प्रतियोगिताको पाँचौं संस्करण सकिएको छ ।

र, पाँचौं संस्करण सम्पन्न हुँदा प्रतियोगिता आयोजनाको उद्देश्यले फेरि पूरा गरेको छ । ललितपुरको रातिराति टेबल टेनिस खेल्ने संस्कारको जगेर्ना, ललितपुर जिल्लाको ऐतिहासिक एकताको निरन्तरता र नयाँ पुराना खेलाडीहरू जन्माउने पक्षमा यसपालि पनि भव्य रूपमा प्रतियोगिता सकिएको छ ।

इतिहास


मनोरञ्जनको धेरै विकल्प नभएका बेला पाँच दशकअघिदेखि पाटनका बहाः (चोक) हरूमा रातिराति टेबल टेनिस खेल्नु संस्कार नै थियो । बहाःमा टेबलटेनिस प्रतिस्पर्धा गर्ने अनि परिवारका हजुरबुवा, हजुरआमासम्मले झ्यालबाट हेरेर मनोरञ्जन लिने गर्दथे ।

पाटनका हरेक बहाःमा टेबल टेनिसको सिमेन्टको बोर्ड हुन्थ्यो । मनोरञ्जनको खेल पछि प्रतिस्पर्धामा परिणत भयो । विसं. २०३० को दशकमा पाटनमा रात्रिकालीन टेबलटेनिस प्रतियोगिता सुरु भएको उति बेलाका खेलाडीहरू बताउँछन् । पाटनका सुन्धारा, मापाल, कुटी, सौगल, पुल्चोक, त्यागलमा पालैपालो हरेक वर्ष टेबल टेनिस प्रतियोगिता आयोजना हुने गर्दथ्यो ।

त्यति बेलाका एकजना विजेता भेट्रान खेलाडी पन्नाकाजी शाक्य भन्छन्, गजबकै माहोल हुन्थ्यो । एक जनाको खेल हेर्न परिवारदेखि टोलका सबै दर्शक उपस्थित भएर हौसला दिने गर्थे ।

त्यो माहोलले ललितपुरबाट राष्ट्रिय स्तरका थुप्रै खेलाडीहरू उत्पादन भयो । राजेन्द्र कपाली, रवीन्द्र शाक्य, पुरुषोत्तम वज्राचार्य जस्ता खेलाडी नेपालका स्टार भए ।

तर समयक्रमले टेबल टेनिसको यो परम्परा बन्द भयो । बढ्दो सहरीकरण भनौं वा मनोरञ्जनका थुप्रै विकल्प उपलब्ध भएको कारण भनौं बहाःका बोर्डहरू भत्किँदै गए ।

पुनर्जीवन


झन्डै तीन दशकको अन्तरालपछि फेरि ललितपुरवासीहरू मिलेर रात्रिकालीन  टेबल टेनिस पुनः सुरु गर्ने अभियानमा जुटे । पुराना खेलाडीहरू राजेन्द्र कपाली, पुरुषोत्तम बज्राचार्य लगायतका खेलाडीहरू जुरमुराए । त्यसमा ललितपुर जिल्ला टेबल टेनिस संघ र सबै २९ वडाका प्रतिनिधिहरूको दरिलो साथ देखियो ।

महानगरपालिकाले मुख्य प्रायोजकका रूपमा साथ दियो । अरू सबै वडाले प्रतियोगिताको लागि बजेट छुट्याए । त्यसपछि ५ वर्षयता यो प्रतियोगिता रात्रिकालीन मेयर कपको नामबाट ब्युँतिएको छ ।  

युवा खेलाडीको उत्पादनदेखि भेट्रानको मनोरञ्जनसम्मलाई ध्यानमा राख्दै अहिले ब्युँतिएको प्रतियोगितामा उमेर समूह, राष्ट्रिय खेलाडीदेखि भेट्रान्ससम्मका विधा समावेश गरिएको छ ।

प्रत्येक वर्ष प्रतियोगिताको आयोजना फरक/ फरक वडाले गर्ने मोडल बनाइएको छ । गत वर्ष १२ नम्बर वडामा पर्ने मंगलबजारको हखाःमा प्रतियोगिता आयोजना भएको थियो । यो वर्ष ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखुः खेलकुद समिति र खोल्चापोखरी टोल सुधार समितिको संयुक्त आयोजना भएको हो । प्रतियोगितामा ललितपुरका २९ वडाका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउँछन् ।

पाँच वर्षका दौरान प्रतियोगिताले राम्रो लय लिइसकेको छ । प्रतिस्पर्धा गर्ने खेलाडीहरूको संख्या पनि बढ्दै गएको छ । यसपालि प्रतियोगितामा ५ सय बढी खेलाडीहरू सहभागी भएका थिए ।  

यो सँगै पाटनमा पुरानो संस्कृति पनि ब्युँतिएको अनुभूति गरिएको छ । भित्री टोलहरूको पहिचान, खेलाडी उत्पादन, समुदायको रहनसहन, खानपानको प्रचार तथा एउटै सहरका टोलबीच भाइचाराको सम्बन्ध बढ्दै गएको छ ।

यसपालि पनि हरेक वर्षझैं खोल्चा पुखुःमा खेल हेर्न पाटनवासीहरू झुम्मिन पुगेका थिए । टेबल टेनिस मात्र होइन, खेलस्थल बाहिर ललितपुरको परम्परागत परिकारका स्टलहरू राखिएका थिए ।

प्रतियोगिता मूल आयोजक समितिका संयोजक नदिमरत्न शाक्य भन्छन्, खोल्चा पुखुःलाई धेरैले चिन्दैनथ्यो । अहिले सबैले चिनेको छ । यसको चर्चा भएको छ । टोलवासीले प्रतियोगिता सफल बनाउन राम्रो साथ दिएका छन् । एकता बलियो बनेको छ । खोल्चा पुखुःको राम्रो पहिचान भयो । हाम्रो उद्देश्य पूरा भयो ।

ललितपुरले जोगाएको टेबल टेनिस

परम्परा जोगाउने नाममा भएको यो प्रतियोगिता नेपालकै एउटा नमुना प्रतिस्पर्धा बनिसकेको छ । स्वास्थ्यका लागि खेलकुदको अपरिहार्यता भनिने खेलकुदमा यसपालिको नारा थियो, ‘मित्रताका लागि खेलकुद’ ।

हुन पनि हो २९ वडाभरीका सम्पूर्ण टेबल टेनिसप्रेमीको जमघट एकै ठाउँमा हुनु साधारण विषयमात्र होइन । सम्पूर्ण जिल्लावासीलाई टेबल टेनिसले एकै स्थानमा ल्याएको छ ।

भेट्रान खेलाडीको खेल देखेर साना नानीहरू प्रभावित भएको देखिएको छ । आठौं दक्षिण एसियाली खेलकुदमा करातेबाट स्वर्ण पदक जितेकी प्रीति डंगोल वज्राचार्य आफ्नो छोरालाई लिएर प्रतिस्पर्धामा आइन् ।

उनका छोरा निर्माण वज्राचार्यले पनि १२ वर्षमुनिको इभेन्टमा कांस्य पदक जिते । प्रीति भन्छिन्, ‘हामीले केही भनेका होइनौं अरूले प्रतिस्पर्धा गरेको देखेर छोराले नै टेबल टेनिस खेल्न जिद्दी गरे । हामीले साथ दियौं । अहिले कांस्य जितेकामा दङ्ग छ । भोलिका दिनमा स्वर्णका लागि पनि प्रयास गर्ला ।’

रात्रिकालीन टेबल टेनिसको प्रभाव यति बढेको छ कि अहिले ललितपुरमा टेबल टेनिसका थुप्रै क्लबहरू स्थापना भएका छन् । त्यहाँ बुढादेखि भुरासम्म प्रशिक्षणमा झुम्मिएका भेटिन्छन् । यहाँबाट उत्पादित खेलाडीहरूले राष्ट्रियस्तरमा तहल्का मच्चाइरहेका छन् ।

गत १३ औं दक्षिण एसियाली खेलकुदमा टेबल टेनिसतर्फ ललितपुरका ४ खेलाडी राष्ट्रिय टोलीमा परेका थिए  ।  मूल आयोजक समितिका संयोजक नदिमरत्न शाक्य भन्छन्, ‘हेर्दा यो ललितपुरको एउटा वडास्तरीय कार्यक्रम जस्तो मात्र देखिएला । तर यसले ललितपुरलाई मात्र होइन, देशकै खेलकुदमा उच्च योगदान दिएको छ ।’

हुन पनि हो, ललितपुरले अपनाएको यो खेल मोडल अरू खेलहरूमा अन्य क्षेत्रले देशभर अनुशरण गर्ने हो भने खेल संस्कारको त विकास हुन्छ नै । देशकै खेलकुद विकासमा पनि ठूलो योगदान हुने देखिन्छ ।

दुखद घटना र स्वर्ण पदकको सम्मान


प्रतियोगिता मूल आयोजक समितिका संयोजक नदिमरत्न शाक्य अध्यक्षको खुसी र दुखको दोसाँधमा छन् । खुसी यस अर्थमा कि आफ्नो अध्यक्षतामा पाँचौं मेयर कप रात्रिकालीन टेबलटेनिस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । तर त्यही दौरान भएको एउटा अकल्पनीय दुर्घटनामा आफ्नै सहकर्मी तथा मूल आयोजक समितिका सचिव पुष्परत्न शाक्यलाई गुमाउनुपर्यो ।

पुष्परत्नलाई ४० वर्ष माथि इभेन्टमा प्रतिस्पर्धा गरिरहेकै बेला हृदयघात भयो र कोर्टमै उनको निधन भयो । खेल्दाखेल्दै खेलाडीको निधन हुनु एकदमै कम र अपकल्पनीय घटना थियो । यो दुखद घटनापछि खेल एक साता स्थगित हुन पुग्यो ।

प्रतियोगिता समापनपछि ललितपुरका थिए वडा नम्बर ११ ले उनको स्मृतिमा अर्को टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । वडा ११ का अध्यक्ष अरोज खड्गीले त्यसका लागि १० लाख रकम छुट्टाएको घोषणा गरे । खेलमा अर्को संयोग पनि जुर्यो । स्वर्गीय पुष्परत्न शाक्यले पुरुष टिम इभेन्टमा स्वर्ण पनि हात पारे ।  खासमा कुरा के थियो भने वडा ११ बाट खेलिरहेका पुष्परत्नको नाम निधन हुनु अगाडि नै टिम इभेन्टको सूचीमा दर्ता थियो । त्यसपछि उनका टोलीका साथीहरूले पुष्परत्नको नाम हटाएन र उनको सम्मानस्वरूप वडा ११ को टोलीमा रिजर्भ खेलाडीको रूपमा निरन्तरता दिने निर्णय गर्यो ।  

टोलीका साथीहरू नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य र राजीप वज्राचार्यको टोलीले फाइनलमा वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यसँग प्रतिस्पर्धा गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा वडा ११ ले वडा १६ लाई ३-२ को सेटमा हरायो । जितपछि टिमका सहयात्रीहरूले उक्त स्वर्ण स्वर्गीय पुष्परत्नप्रति समर्पित गरेका थिए ।

शनिबारको अन्य स्टोरी 
चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिर
सन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्म
नेपाल सुपर लिगः यसकारण विशेष छ
धन्न १ पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’
यु–१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छ
एउटै नियतिमा म्यानचेस्टर र न्युकासल
अन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’