थिम्पु । गत वर्षको मार्चमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध नमिठो हार बेहोर्याे । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भारतले नेपालको पोस्टमा १० गोल गरेको थियो । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा नेपाल शीर्ष दुई भित्र अटाएन र फाइनल खेल्न बञ्चित रह्यो ।
नेपालले १७ महिनाको अन्तरालमा बुधबार यही भारतसँग खेल्दै साफ यु-१७ च्याम्पियनसिपको आफ्नो उपाधि अभियान सुरु गर्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा हुँदैछ । त्यसैले भारतविरुद्ध खेलिरहँदा नेपाली टोली सुखद सुरुआतको लक्ष्यमा हुनेछ । भारतविरुद्ध सकारात्मक नतिजा ल्याउन सके नेपाली टोलीलाई बाँकी ५ खेलका लागि उर्जा मिल्नेछ ।
नेपाली टोलीमा अधिकांश खेलाडीसँग गत वर्ष साफ च्याम्पियनसिप खेलेको अनुभव छ । टोलीमा मात्र सात नयाँ खेलाडी थपिएका छन् । त्यसैले भारत यी कलिला किशोरीहरुलाई नौलो प्रतिद्धन्द्धी होइन । उता भारतीय टोलीमा १३ नयाँ अनुहार छन् ।
नेपालले च्याम्पियनसिपका लागि हेटौडामा साउन १,२ र ३ गते खुला छनोट प्रतियोगिता गरेको थियो । खुला छनोटपछि दुई चरणमा खेलाडी छनोट गरेर अन्तिम २३ सदस्यीय टोली तयार पारिएको हो ।
‘टोली नयाँ छैन । टोली गत वर्षभन्दा चाहिँ पक्कै निखारिएको छ । खेलाडी भित्र भएका कमि कमजोरीलाई मूल्याङ्कन गरेर हामीले काम गरेका छौं,’ मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ भन्छन्, ‘खेलाडीले आफूले जाने सिकेका कुराहरुलाई खेलमा प्रयोग गर्छन् भन्ने पूर्ण आशा लिएको छु । हामी सकारात्मक नतिजा ल्यानेछौं भन्ने विश्वास छ ।’
श्रेष्ठले अट्याकिङ मिडफिल्डर भूमिका बुढाथोकीलाई नै कप्तानमा निरन्तरता दिएका छन् । भूमिकाले गत वर्ष चक्र तामाङको नेतृत्वमा रहेको टोलीमा पनि कप्तानको आर्मब्यान्ड लगाएकी थिइन् ।
भूमिकाले भारतसँग बेहोरेको नमिठो हार बिर्सिएकी छैनन् । भन्छिन्, ‘अघिल्लो संस्करण हामीले खराब प्रदर्शन गरेका थियौं । यसपाली हामीले सबै पक्षमा सुधार गरेका छौं । हामी भारतलाई हराएर प्रतियोगितामा राम्रो सुरुआत लिन चाहन्छौं ।’

भूमिकासँगै सेन्ट्रल मिडफिल्डर तथा उप–कप्तान सहारा लिम्बू भारतविरुद्ध हेर्नलायक खेलाडी रहनेछन् । विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी सहारा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो अनुभव लिँदैछिन् ।
उदीयमान मिडफिल्डर सहारा आफ्नो टोेलीलाई लिएर विश्वस्त छिन् । भन्छिन्, ‘सबै आ–आफ्नो पोजिसनमा अब्बल छन् । प्रशिक्षको रणनीति अनुसार खेल्यौं भने हामीले सकारात्मक नतिजा ल्याउन सक्छौं ।’
तल्लो उमेर समूहमा नेपालको इतिहास
तल्लो उमेर समूहको साफ च्याम्पियनसिप छैटौं संस्करणसम्म आइपुग्दा नेपालले मात्र एकपटक उपाधि जित्न सकेको छ । सन् २०२२ मा भगवती रानामगरको नेतृत्वमा रहेको यु–१५ टोलीले बंगलादेशको राजधानी ढाकामा ट्रफी उचालेको थियो ।
त्यतिबेला रानामगरले चार हप्ताको तयारीमा देशलाई उपाधि दिलाएकी थिइन् । रानामगरको त्यो टोलीमा सेनु परियार, वर्षा ओली, सुशीला केसी, समीक्षा मगर, सिम्रन राई इत्यादी प्रमुख खेलाडी थिए । यी खेलाडीले गत महिनामात्र ढाकामा साफ यु–२० च्यामिपयनसिपमा प्रतिनिधित्व गरेका थिए ।
तीन टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको थियो । जसमा नेपालले घरेलु टोलीसँगै भुटानलाई पछि पारेको थियो ।
यसबाहेक नेपालको इतिहास एकदमै कमजोर छ । २०१७, २०१८ र २०२३ मा चौथो स्थानमा सीमित भएको नेपालले २०१९ र २०२४ मा चौथो स्थानमा चित्त बुझाएको थियो ।