काभा पुरुष च्यालेन्ज कप

काभा भलिबलः नेपाल र बंगलादेश खेल्दै

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा पुरुष च्यालेन्ज कपको पहिलो खेलमा आज (सोमबार) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । मानबहादुर श्रेष्ठको कप्तानीमा नेपाली टोली आइतबार श्रीलंका पुगेको थियो ।

सुगाथादसा इन्डोरमा हुने खेल नेपाली समयअनुसार सवाँ ६ बजे सुरु हुनेछ । कप्तान मानबहादुरले बंगलादेशविरुद्ध जित्न खेल्ले बताएका छन् ।

अक्टोबर ९ देखि १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।

नेपाल मंगलबार आयोजक श्रीलंका, बुधबार अफगानिस्तान, बिहीबार साउदी अरेबिया र शुक्रबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भलिबल टोलीः

मानबहादुर श्रेष्ठ (कप्तान), विशालबहादुर विक, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोजकाजी बस्नेत, सम्राट भण्डारी