इजरायल फुटबल

युइएफएले इजरायलका सबै खेल स्थगित गर्याे

काठमाडौं । युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलका अन्तर्राष्ट्रिय सबै खेल स्थगित गरेको छ ।

शनिबार देखि बढ्दो हिंसाकाबीच असुरक्षित देखिएपछि युएएफएले इजरायलको तालिकामा रहेका सबै खेल स्थगित गरेको हो ।

गाजा क्षेत्रमा अतिबादी समूहले आक्रामण गरेपछि ६ सयमाथि मानिषको मृत्यु भइसकेको छ । नेपालबाट उच्चशिक्षा हासिलका लागि इजरायल पुगेका ४९ मध्ये १० विद्यार्थीको आइतबार मृत्यु भएको पुष्टि भएको छ ।

इजरायल र प्यालेस्टाइनको सिमावर्ती सहर गाजामा हमास समूहले शनिबार देखि हमला गरिरहेको छ ।

इजरायलले यसैसाता युरो छनोटमा स्विट्जरल्यान्डसँग खेल्दैछ । युइएफएले ‘सुरक्षा कारण’ देखाएको छ ।

इजरायलले यु२१ च्याम्पियनसिप छनोटमा इस्टोनिया र जर्मनीसँग खेल्ने तालिका रहेको थियो । यस्तै इजरायलले बेल्जियम, जिब्राल्टार र वेल्ससम्मिलित यु १७ च्याम्पियनसिप आयोजना गर्ने तालिका थियो । हाल सबै खेल स्थगित भएका छन् । युइएफएले यी खेलको नयाँ मिति तय गर्ने बताएको छ ।

यसैबीच घरेलु लिगपनि स्थगित भएका छन् । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी पनि इजरायल क्लब रानानामा अनुबन्धित छन् । यद्यपि उनले आफू सुरक्षित रहेको बताएकी छिन् ।