सकियो टोकियो ओलम्पिक

टोकियो, (खेलाडी)- कोभिड १९ महामारीका कारण जापानका लागि टोकियो ओलम्पिक आयोजना एउटा ठूलो चुनौतीको विषय बनेको थियो । 

अघिल्लो वर्ष नै हुनुपर्ने विश्‍व खेलकुदको सबभन्दा ठूलो मेला महामारीकै कारण एक वर्ष स्थगित गरिएको थियो । विश्‍वव्यापी महामारीसँग जुध्‍ने क्रममा एक वर्ष ढिलो सारिएको टोकियो ओलम्पिक २०२० आइतबार समापन भएको छ । 

अन्तर्राष्‍ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाकले समापन गरेको ओलम्पिक रद्ध गर्न आइओसी, जापानी आयोजक तथा जापान सरकारलाई जनस्तरबाट ठूलो दबाब परेको थियो । 

तर जापान सरकार, स्थानीय आयोजक र आइओसीले कडाईका साथ स्वास्थ्य मापदण्ड पालना गराउँदै गृष्मकालिन ओलम्पिकको ३२औं संस्करण सम्पन्‍न गरेको छ । 

महामारीका कारण अधिकांस खेलस्थलमा दर्शकको उपस्थिती बर्जित गरिएको थियो भने ६८ हजार दर्शक क्षमताको ओलम्पिक रंगशालामा भएको समापन कार्यक्रममा पनि दर्शकको प्रवेश निशेध गरिएको थियो । त्यसैले होला, आइओसीका अध्यक्ष बाकले २०२१ मा भएको टोकियो ओलम्पिक २०२० लाई ‘अभूतपूर्व’ ओलम्पिकका रुपमा वयान गरे ।

‘यस्तो कठिन परिस्थितिमा पनि हामीले विश्‍वलाई अमूल्य उपहार दियौं,’ समापन समारोहमा बाकले खेलाडीलाई भने, ‘टोकियो ओलम्पिक आयोजना गर्नु सबैभन्दा ठूलो चुनौती थियो र यो ३२औं ग्रीष्मकालीन ओलम्पिक समापन भएको घोषणा गर्दछु ।’ 

ओलम्पिक भिलेजमा सामाजिक दूरी, बायो सेक्युर बबलमा खेलाडीको बसाइँ, प्रतिस्पर्धा र प्रशिक्षण स्थलबाहेक मास्कको प्रयोग र खेल सकिएको ४८ घन्टाभित्र देश छाड्नुपर्ने ओलम्पिक आयोजकले नियम बनाएको थियो ।

समापन समारोहमा पेरिसकी मेयर एन्‍नी हिडाल्गोलाई सन् २०२४ को पेरिस ओलम्पिकको झन्डा हस्तान्तरण गरिएको थियो । बाकले ओलम्पिक रद्द गर्ने र बीमा असुल गर्ने बाटो रहँदा यस विषयमा छलफल भए पनि खेलाडीका लागि ओलम्पिक सञ्‍चालन गरिएको बताए । 

जापानमा कोरोना संक्रमणको उच्च स्थितिका कारण स्वास्थ्य संकटकाल र त्यहाँको जनता नै आयोजनाको विपक्षामा रहँदा पनि ओलम्पिक सम्पन्‍न गर्नु निकै चुनौतीपूर्ण रहेको थियो ।