सिटीलाई स्तब्ध पार्दै लेस्टरले जित्यो कम्युनिटी सिल्ड
लन्डन, (खेलाडी)- केलेची इहेनाचोको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टर सिटीले शनिबार कम्युनिटी सिल्डको उपाधि जितेको छ ।
नयाँ सिजनको सुरुमा खेलिने कम्युनिटी सिल्डको भिडन्त वेम्बली रंगशालामा भएको थियो । लेस्टरको जितमा गोल गर्ने इहेनाचो सिटीकै पूर्वखेलाडी हुन् । इहेनाचोलाई ८७औं मिनेटमा पेनाल्टी बक्समा खराब ट्याकल गरेपछि प्राप्त अवसरमा लेस्टर च्याम्पियन बन्न सफल भएको हो ।
प्रिमियर लिग र एफए कप विजेताबीच प्रिमियर लिगको सुरुआतमा कम्युनिटी सिल्डको लागि प्रतिस्पर्धा हुने परम्परा छ । लेस्टरले कम्युनिटी सिल्डको उपाधि जितेको यो दोस्रो पटक हो । सिटीका लागि भने सातौं पटक उपाधि जित्नबाट वञ्चित हुँदा सिजनको सुरुआत खल्लो भयो ।
नयाँ सिजनको प्रिमियर लिग आगामी शनिबारबाट हुँदै छ । कम्युनिटी सिल्डको च्याम्पियन लेस्टरले शनिबारै उल्भरह्याम्पटनलाई निम्त्याउँदै नयाँ सिजनको सुरुआत गर्दा साबिक विजेता सिटीले भने टोटेनह्यामको भ्रमण गर्नेछ ।