राफेल नाडाल

जोकोभिचको सहभागिता अस्ट्रेलियन ओपनका लागि राम्रो संकेतः नाडाल

मेलबर्न ।  स्पेनिस टेनिस स्टार राफेल नाडालले आफ्ना प्रतिद्धन्द्धी नोभाक जोकोभिचको सहभागिता अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका लागि राम्रो संकेत भएको बताएका छन् ।

यसै हप्ता मात्र अस्टेलिया पुगेका नोभाकले  ग्रान्ड स्लामको अगावै एडेलेड अन्तर्राष्ट्रिय टेनिस प्रतियोगता खेलेका थिए । २१ पटकका ग्रान्ड स्लाम विजेता नोभाकले कोरोना भाइरसविरुद्धको खोप नलाएकै कारण अस्ट्रेलिया प्रवेश पाएका थिएनन् । जसकारण उनले २०२२ को अस्ट्रेलियन ओपन  गुमाएका थिए । 

अहिले कोरोना भ्याक्सिन सम्बन्धि नियम परिवर्तन भएपछि नोभाकले अस्ट्रेलियामा प्रवेश पाएका हुन् । नोभाकको उपस्थितीले  नाडालको उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का पुग्ने अनुमान गरिएको छ ।

‘नोभाक प्रतियोगितामा हुनु नै टेनिस र समर्थकका लागि राम्रो संकेत हो,’नाडालले भने,‘आशा गरौं कोर्टमा दुई उत्कृष्ट खेलाडीको भेट हुनेछ र उत्कृष्ट खेल देख्न पाइनेछ ।’

वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपन जनवरी १६ देखि सुरु हुँदैछ । २२ पटकका ग्रान्ड स्लाम विजेता नाडालले यो आफ्नो अन्तिम अस्ट्रेलियन ओपन हुनसक्ने बताएका छन् ।

‘म अहिले राम्रो खेल्नेतर्फ ध्यान केन्द्रित गरिरहेको छु। सायद यो मेरो अन्तिम अस्ट्रेलियन ओपन हुनेछ त्यसैले म यसलाई विशेष बनाउन चाहन्छु’, नाडनलले भने ।