मेड्भेडेभ फ्रेन्च ओपनको क्‍वार्टरफाइनलमै पराजित

पेरिस, (खेलाडी)- विश्‍व वरियताक्रमको पाँचौं स्थानमा रहेका स्टेफानोस सिट्सिपसले दोस्रो वरियाताप्राप्त ड्यानिअल मेड्भेडेभलाई ३-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएका छन् । 

ग्रिसका २२ वर्षे सिट्सिपसले रुसका मेड्भेडेभलाई ६-३, ७-६(७/३), ७-५ को सेटमा हराएका हुन् । सिट्सिपस लगातार तेस्रो पटक ग्राण्ड स्लाम टेनिसको सेमिफाइनलमा पुगेका हुन् । सिट्सिपसले अब फाइनल प्रवेशका लागि जर्मनीका एलेक्जेन्डर जेरेभसँग प्रतिस्पर्धा गर्नेछन् । 

पाँचौं वरियाताका जेरेभले स्पेनका एलेजान्द्रो डभिडोभिच फोकिनालाई ३-० को साझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । जर्मनीका २४ वर्षे जेरेभले फोकिनामाथि ६-४, ६-१, ६-१ को सेटमा सहज विजय हासिल गरेका हुन् । जेरेभ र सिट्सिपस दुवै जना फ्रान्समा पहिलो उपाधि जित्‍ने लक्ष्यमा छन् । 

‘सेमिफाइनलमा पुग्दा खुशी त छु । तर यतिमै सन्तुष्‍ट भएको छैन,’ जर्मनीका जेरेभले भने, ‘मैले राम्रो टेनिस खेलिरहेको छु र आशा छ आगामी दिनमा योभन्दा राम्रो खेल्न सक्नेछु ।’