महिला राष्‍ट्रिय भलिबल टिमको प्रशिक्षण असार पहिलो सातापछि मात्र

काठमाडौ, (खेलाडी)- फिलिपिन्समा दुई महिनापछि आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षण असार पहिलो साता पछि मात्र सुरु हुने भएको छ । 

नेपाल भलिबल संघले गत साता ३० सदस्यीय महिला राष्‍ट्रिय टोलीको घोषणा गर्दै जेठ २१ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने बताएका थियो । तर कोभिड १९ को दोस्रो लहरका कारण अहिले पनि लकडाउन जारी रहेको अवस्थामा गृह मन्त्रालयले समेत प्रशिक्षणका लागि अनुमती नदिएकाले तत्काल प्रशिक्षण सुरु नहुने प्रशिक्षक जगदिश भट्टले बताए ।

‘केही खेलाडी काठमाडौं बहिर छन् । निशेषाज्ञाका कारण उनीहरुलाई प्रशिक्षणमा सहभागी गराउन सम्भव थिएन,’ भट्टले भने, ‘त्यस्तै गृह मन्त्रालयले समेत हामीलाई तत्काल प्रशिक्षण सुरु गर्न अनुमती दिएन । राष्‍ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव जेठ २८ पछि कुवेतबाट फर्किनुहुन्छ । त्यसपछि बैठक बसेर अब के गर्ने भन्‍ने बारे निर्णय गर्छौं । सम्भवत असार पहिलो सातापछि मात्र बन्द प्रशिक्षण सुुरु हुन्छ होला । त्यस्तै प्रशिक्षणमा सहभागी हुने खेलाडीको पनि छिट्टै पिसिआर परिक्षण गदैैछौं ।’

प्रतियोगिता अगस्ट २९ बाट सेप्‍टेम्बर ५ सम्म फिलिपिन्समा हुनेछ । प्रतियोगिताका लागि भलिबल संघले चैतमा सम्पन्‍न पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको थियो । बन्द प्रशिक्षणमा आर्मीबाट ८ खेलाडी पर्दा न्यु डायमण्ड, नेपाल पुलिस क्लब र एपिएफबाट समान ७ र भरतपुरबाट १ खेलाडी परेका थिए ।