टेनिस

गण्डकीका प्रदीप र एनआरएनएका आरभ टेनिसको फाइनलमा

पोखरा । गण्डकीका प्रदीप खड्का र गैह्र आवासीय नेपाली संघ (एनआरएनए)का आरभ सम्राट हाडा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसमा पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् ।

अघिल्लो दिन पुरुष टिम इभेन्ट्सको स्वर्ण जित्ने टोलीका खेलाडी प्रदीपले मंगलबार बिहान पोखरा रंगशाला परिसरस्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमिफाइनलमा एपिएफका सन्तोष खत्रीलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरे ।

अर्को सेमिफाइनलमा आरभले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रणव खनाललाई ६-३, ६-० को सहज नतिजामा हराए ।

फाइनल प्रवेश गरेसँगै प्रदीप र आरभले कम्तिमा रजत पदक पक्का गरेका छन् भने अन्तिम चारमा पराजित भएका सन्तोष र प्रणवले कांस्य पदकमा चित्त बुझाए ।

त्यस्तै मंगलबारै सम्पन्न महिलाको सेमिफाइनलमा जित हासिल गर्दै आर्मीका अभिलाशा बिष्ट र इरा एम रावतले एक–अर्काविरुद्धको फाइनल भिडन्त पक्का गरे । कम्तिमा रजत पदक पक्का गर्ने क्रममा दुवैले बागमती प्रदेशका खेलाडीलाई सोझो सेटमा निराश पारेका थिए ।

अभिलाशाले रायना शाहमाथि ६-०, ६-१ को विजयी नतिजा निकालिन भने इराले प्रकृति श्रेष्ठलाई ६-२, ७-५ को नतिजामा हराएकी थिइन ।

सोमबार गण्डकी प्रदेशले पुरुष टिम इभेन्ट्समा स्वर्ण पदक जित्दा आर्मीले रजत तथा एपिएफ र नेपाल पुलिसले कांस्य पदक जितेका थिए । महिला टिम इभेन्ट्समा सेनाले स्वर्ण, एपिएफले रजत तथा पुलिस र बागमतीले कांस्य पदक जितेका थिए ।

टेनिसका कुल सात इभेन्ट्समध्ये महिला र पुरुष एकल, महिला र पुरुष युगल तथा मिश्रित युगल गरि पाँच स्वर्ण पदकको टुंगो लाग्न बाँकी छ ।