पूर्व विजेता मुगुरुजाको यात्रा पहिलो चरणमै समाप्त

पेरिस, जेठ १८ (खेलाडी)– पूर्व विजेता गार्बिन मुगुरुजा गए राति फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन् । मुगुरुजा युक्रेनकी १८ वर्षिया मार्टा कोस्ट्युकसँग ६–१, ६–४ को सेटमा पराजित भएपछि पहिलो चरणबाटै यात्रा टुंग्याउन बाध्य भइन ।  

पहिलो सेटपछि ढाडमा समस्या आएका कारण मुगुरुजाले दोस्रो सेटमा पुनरागमन गर्न सकिनन् । १२औं वरियाताकी मुगुरुजाले २०१६ मा फ्रेन्च ओपन तथा २०१७ मा विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् । 

उनी फ्रेन्च ओपनको पहिलो चरणबाट बाहिरिएको यो पहिलो पटक हो । कोस्ट्युकले शीर्ष २० वरियाताको खेलाडीमाथि विजय हासिल गरेको यो पहिलो पटक हो । कोस्ट्युकले अब अब चीनकी साइसाई जेङविरुद्ध खेल्नेछिन् । पहिलो चरणको खेलमा जेङले स्पेनकी सारा सोरिसेब टोर्मोलाई ४–६, ६–४, ६–४ को सेटमा हराएकी थिइन् ।