इमा राडुकानु

राडुकानुसँग अझै ग्रान्ड स्लाम जित्ने क्षमता छः पुइग

लन्डन । पूर्व ओलम्पिक च्याम्पियन मोनिका पुइगले इमा राडुकानुसँग धेरै ग्रान्ड स्लाम जित्ने क्षमता भएको तर त्यसका लागि उनलाई पर्याप्त समय दिनुपर्ने बताएकी छिन ।

राडुकानुले २०२१ मा युएस ओपन जितेकी थिइन । तर २०२२ भने राडुकानुका लागि सुखद बन्न सकेन । चोटका साथै प्रशिक्षक परिवर्तन भएका कारण उनले स्वभाविक लय भेट्टाउन सकेकी थिइनन । त्यसयता उनी ग्रान्ड स्लामको तेस्रो चरणमा समेत प्रवेश गर्न सकेकी छैनन ।

रियो ओलम्पिक २०१६ को महिला एकलतर्फकी स्वर्ण विजेता पुइगले राडुकानुसँग अझै पनि स्वभाविक लयमा फर्कदै ग्रान्ड स्लाम जित्ने क्षमता रहेको बताइन । तर उनले त्यसका लागि फिटनेसका साथै मानसिक रुपमा समेत स्वस्थ रहन राडुकानुलाई सुझाएकी थिइन ।

‘मैले युएस ओपनमा उनको खेल हेरेको थिए । उनले राम्रो प्रदर्शनका साथ खेलजीवनको पहिलो ग्रान्ड स्लाम जितेकी थिइन,’ पुइगले भनिन्, ‘उनी युवा खेलाडी हुन । उनीसँग आफ्नो खेल सुधार गर्ने पर्याप्त समय छ । उनले अझ धेरै ग्रान्ड स्लाम जित्ने क्षमता राख्छिन् । समर्थक र प्रशिक्षकले पनि उनीमाथि दबाब बढाउनु हुँदेन ।’