आइटिएफ वर्ल्ड टेनिस टुर

आइटिएफ वर्ल्ड टुरः रायनाको विजयी सुरुआत

सांकेतिक तस्बिर

काठमाडौं ।  नेपालकी रायना शाहले आइटिएफ वर्ल्ड टेनिस टुर जे ६०,सर्किट-२ अन्तर्गत गर्ल्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६-१ र ६-० को सोझो सेटमा पराजित गरिन् । पहिलो दिन गर्ल्स सिंगल्समा रायनासहित तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गरेकोमा रायनाले मात्र जित हात पारेकी हुन् । 

भारतकी काइरा सिद्धार्थ चेतनानीले नेपालकी प्रशंसा मोक्तानलाई ६-४ र ६-० तथा भारतकी अर्जन खोराकीवालाले नेपालकी आइशा डोल्कर गुरुङलाई ६-२ र ६-१ को सोझो सेटमा हराए । 

अन्य खेलमा थाइल्यान्डकी कानछ्या चुङवातना, मंगोलियाकी मराल्गु चोग्सोम्जाभ, बेल्जियमकी क्यामिली फिसेट, भारतकी तमन्ना टकोरिया, रुसकी मिलिना शुब्खान्कुलोभा तथा भारतका सौम्य रोन्डे, दुर्गान्सी कुमार, साइ जान्भी र स्निगधा कान्ताले जित निकाले  ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए । भियतनामका फाम ला होङले नेपालका आर्यन गिरीलाई ६-१ र ६-२, भारतका सेहजसिंह पवारले नेपालका अकी जुवेन रावतलाई ६-१ र ६-०, भारतका स्मिट निलेशभाइ पटेलले नेपालका निहालजंगबहादुर थापालाई ६-४ र ६-१ हारए ।

यसैगरी चाइनिज ताइपेईका काइ इन याङले नेपालका देव आशिष रेउलेलाई ६-० र ६-०, अमेरिकाका आरभसम्राट हाडाले नेपालका सक्षमविक्रम शाहलाई ६-१ र ६-३ तथा भारतका निकिल डिसुजाले नेपालका श्रीयोग अधिकारीलाई ६-१ र ६-० को सोझो सेटमा पाखा लगाए ।

अन्य प्रतिस्पर्धामा चीनका वेन्बो बाइ, भारतका नभ्य वर्मा, बेलारुसका आर्टसियोम सिकुनेन्का, भारतका प्रत्याक्ष, दक्षिण कोरियाका जियोम डो र भारतका देबाशिष साहुले जित निकाले ।