अन्य

क्लोज प्रोटेक्सन जुडो प्रतियोगितामा मिलन र विकासलाई स्वर्ण

काठमाडौं । क्लोज प्रोटेक्सन जुडोका मिलनकुमार रावत र प्यारा जुडो डोजोका विकास विष्टले दोश्रो क्लोज प्रोटेक्सन जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

अत्ति विशिष्ट सुरक्षा निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि तौल समूहमा मिलनले त्रिभुवन आर्मी क्लबका लक्ष्मण राई तथा ७३ केजीमुनि तौल समूहमा विकासले आर्मीकै भीष्म बराललाई पराजित गरे ।

नेपाल जुडो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष ६६ केजीमुनि  तौल समूहमा आर्मीका किरण भट्टराईले क्लोज प्रोटेक्सनका धीरेन्द्र थारु तथा ७३ केजीमाथि तौल समूहमा आर्मीका राजेश मगरले सेनाकै राजेश गोलेलाई हराउदै स्वर्ण जिते ।

नारायणहिटी संग्राहलय हातामा भएको प्रतियोगिताको महिला ५२ केजीमुनि तौल समूहमा आर्मीकी रोशना डंगालले क्लोज प्रोटेक्सनकी गंगामाया तामाङ तथा ५७ केजीमुनि  तौल समूहमा  सिमाकुमारी चिढीले क्लोज प्रोटेक्सनकी विमला आलेलाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।

एकदिने प्रतियोगिताको पुरुषमा चार तथा महिलामा दुई गरी ६ स्पर्धामा ५८ खेलाडीले सहभागिता जनाएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।