काठमाडौं महानगर खुला तेक्वान्दो

काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु हुने

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

आइतबारसम्म चल्ने प्रतियोगिता पेप्सीकोलास्थित आयोजक डोजाङको आफ्नै हलमा हुनेछ । उक्त प्रतियोगितामा विभिन्न २२ जिल्लाका चार सय ५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ग्योरोगीतर्फ २४ र पुम्सेमा ६ गरी कुल ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ग्योरोगीमा पुरुषतर्फ १३ र महिलातर्फ ११ स्पर्धा समावेश छन् ।

पुम्सेमा विभिन्न उमेर समूहमा पुरुष र महिलामा  समान तीन गरी ६ एकल स्पर्धा समावेश छन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगिताको शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ग्योरोगी र पुम्सेमा उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पाउनेछन् ।