जिपी कोइराला स्मृति तेक्वान्दो च्याम्पियनसिप

दीनेश र रुबिका च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका दीनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आइटीएफ तेक्वान्दो च्याम्पियनसिपकाे विजेता बनेका छन् । 

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे । आर्मीकै प्रेम मगर तेश्रो भए ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन् । लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेश्रो स्थानमा चित्त बुझाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेप बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, आइटीएफका अध्यक्ष अन्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुष/महिलामा समान एक स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष/महिलामा समान २७ खेलाडी सहभागी थिए ।