कराते

मनकामना कराते च्याम्पियन

काठमाडौं । मनकामना डोजो १० स्वर्ण जितेर पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । 

नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोस्रो भयो । तेस्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पार्‍यो ।

कौशल्टारको ह्वाइट प्यालेस बैंक्युटमा भएको प्रतियोगिताको पुरुषमा प्रदेश १ डोजोका दिपेन कार्की तथा महिलामा मेन डोजोकी विना वाइबा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा मनकामनाका रिजन थापा मगर तथा महिलामा काभ्रे डोजोकीकी झरना केसी उदीयमान खेलाडी चुनिए । आयोजकको आन्तरिकतर्फ पुरुषमा दीपेन्द्र श्रेष्ठ र महिलामा सिमरन बुढाथोकी उत्कृष्ट खेलाडी ठहरिए । काभ्रे अनुशासित टिम बन्यो ।

विजेतालाई सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले गरेका थिए ।

प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्ट/उदीयमान खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ ।