एनएसएल

एन्फाले एनएसएललाई सोध्यो– निर्देशन मिचेर अक्सन किन गरेको ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) विवाद समाधान समितिले आइतबार नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनइएसएम)लाई स्पष्टीकरणका लागि पत्र काटेको छ । यसै महिनाको अन्तिममा एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरिरहेको एनइएसएमले एन्फाले रोक्न निर्देशन दिनुका बाबजुद फागुन २० गते खेलाडी अक्सन गरेको थियो ।

सोही विषयमा एन्फाको निर्देशन विपरीत अक्सन गरेको विषयमा एन्फाको विवाद समाधान समितिले आइतबार पत्र काट्दै तीन दिन भित्र स्पष्टीकरण माग गरेको स्रोतले जानकारी दिएको छ । एनएसएल आयोजना र यसको अस्तित्वको विषयमा पछिल्लो समय विवाद चुलिँदै गएपछि एन्फाको पछिल्लो बैठकले सात सदस्यीय समाधान समिति गठन गरेको थियो । सोही समितिले शुक्रबार ए डिभिजन लिगका असन्तुष्ट चार क्लबसँगको छलफलपछि आज गर्ने भनिएको टाइसिट ड्र कार्यक्रम स्थगित भएको थियो ।

एनइएसएमले भने एन्फाको विवाद समाधान समितिको निर्देशनपछि रोकिएको टाइसिट ड्र कार्यक्रम बुधबार गर्नका लागि एन्फा समक्ष अनुमति माग गरेको बुझिएको छ । बुधबारका लागि पुनः मिति माग गर्दै आज एन्फामा निवेदन दिएको स्रोतले बताएको छ ।