मिलन स्मृति टेबलटेनिस

मिलन स्मृति जुनियर टेबलटेनिस जेठ ७ देखि

काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी मिलन श्रेष्ठ स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप जेठ ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्व. मिलन श्रेष्ठको सम्झनामा लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा 'प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता-२०७९' गर्न लागिएको आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षीक कार्यक्रमअन्तर्गत हुन लागेको आयोजकले बताएको छ । तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल) सहित देशभरका विभिन्न जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागीता जनाउने यो प्रतियोगिताको मुख्य प्रायोजक सर्बन चिपालुले गर्ने आयोजकले जानकारी गराएको छ ।

साथै प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ९ लाख रुपैयाँ रहेको र जुनियर ब्वाइज/गर्ल्स तथा क्याडेट ब्वाइज/गर्ल्स सिंगल्स स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट)हरूलाई क्रमश: २० हजार, १० हजार र ५ पाँच हजार नगद पुरस्कार  प्रदान गर्ने आयोजकको तयारी छ । साथै ब्वाइज/गर्ल्स सिंगल्स (१२ वर्ष मुनि) तथा भेट्रान्स (४०/५०/६० वर्षमाथि) सिंगल्स तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूलाई क्रमश: १० हजार, ५ हजार र २५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।