सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता

सम्झना कप टेबल टेनिसमा चीन र भारतका खेलाडी सहभागी हुने

काठमाडौं । ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा माघको तेस्रो साता छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १६ देखि २० सम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि छ ।

यसैगरी हस्पिटालिटी पार्टनमा नेपाली घर, ठमेल छ ।  खेलाडीका लागि आवश्यक पोसाक भ्याली स्पोर्टस हाउस, भक्तपुर तथा आवश्यक खेल सामाग्री स्ट्याग ग्लोबल प्रालि, भारतले उपलब्ध गराउनेछ ।

प्रतियोगितामा नेपालसिहत चीन बाट दुई महिला र भारतबाट १६ पुरुष, आठ महिला गरी ३ सय ९ खेलाडीको सहभागिता रहने आयोजकले
बताएको छ ।  

प्रतियोगितामा यसपटक यु-१६ ब्वाइज/ गर्ल्स गरी दुई विधा थप गरिएको छ ।  प्रतियोगितामा महिला पुरुष एकल, महिला पुरुष टिम इभेन्ट, पुरुष भेट्रान्स एकल (४० वर्ष माथि) ,महिला भेट्रान्स एकल (४० वर्ष माथि), पुरुष भेट्रान्स एकल (५५ वर्ष माथि) यु-१६ ब्वाइज/ गर्ल्स सिंगल्स गरी नौ विधामा प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत महिला / पुरुष एकलका साथै महिला/ पुरुष टिम इभेन्टसतर्फका शीर्ष तीन खेलाडीले क्रमशः५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै भेट्रान्सतर्फको तीन विधा तथा यु-१६ ब्वाइज / गर्ल्सका विजेता, उपविजेता र तेस्रो स्थानका खेलाडीले २५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

नेपाली टेबल टेनिस खेलको इतिहासमा अहिले सम्मकै ठुलो धनराशि ५, पाँच लाख ८० हजार पुरस्कार भएको प्रतियोगिताको अनुमानित बजेट २३ लाख ३५ हजार रुपैयाँ छ ।