प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

पुलिसको लगातार चौथो जित, एपिएफ ५८ रनले पराजित

काठमाडौं । नेपाल एपिएफ क्लबलाई ५८ ले स्तब्ध बनाउँदै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो पराजय ब्यहोरेको एपिएफ समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा ८७ रनमै समेटियो ।

एपिएफका लागि सन्दीप जोराले अविजित २५, अमरसिंह रौटेलाले २३ र प्रज्ज्वल शाहीले १३ रन बनाउनु बाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायण राजवंशीले आठ ओभरमा चार मेडनसहित आठ रन खर्चिए पाँच विकेट लिए । यसैगरी राशिद खानले दुई र सागर ढकालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि दिलिप नाथले ६३ बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ४४ रनको योगदान गरे । यसैगरी अर्जुन साउदले ३१, संकर रानाले २२ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

दोस्रो विकेटका लागि दिलिप र अर्जुनले ७६ रनको योगदान गरेका थिए । एपिएफका लागि भुवन कार्कीले तीन, अमरसिंह रौटेलाले दुई तथा पूर्ण विक, कप्तान रोहितकुमार पौडेल र श्याम ढकाल ( मौसम) ले समान एक विकेट लिए ।