प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

मधेशले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ८० रनको सहज जित निकालेको छ ।

चौथो जितसँगै ६ खेलमा आठ अंक जोडेको मधेश तेस्रो स्थानमा छ । पहिलो पराजय ब्यहोरेको सुदूरपश्चिम चार खेलमा तीन अंकका साथ चौथो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार मधेशले प्रस्तुत गरेको ३ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २ सुय ३९ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि नरेन भट्टले १ सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतले सर्वाधिक १ सय २१ रनको योगदान गरे । यसैगरी  नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ र गजेन्द्र बोहराले १२ रन बनाए । 

शतक प्रहार गरेपछि  नरेन भट्ट

नरेनले दोस्रो विकेटका लागि खडकसँग ५६ तथा पाँचौं विकेटका लागि नरायणसँग ५० रनको साझेदारी गरे । मधेशका लागि राजेश यादव र प्रदीप पासवानले समान तीन, रन्जित कुमारले दुई तथा कप्तान हरिशंकर शाह र पवन सराफले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मेधश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय १९ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि मायन यादवले १ सय २८ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय १५ रनको योगदान गरे । पवन सराफले ६३ बलमा समान चार चौका र छक्काको मद्दतले ७० रन बनाए ।

शतक प्रहार गरेपछि  मायन यादव

यसैगरी अनिल शाहले ७० बलमा ६ चौका र दुई छक्काको मद्दतले ६९, रुपेश सिंहले २१, अविशेक तिवारीले १६ र  हरिशंकर शाहले १४ रन बनाए ।

मायनले तेस्रो विकेटका लागि पवनसँग १ सय २७ र दोस्रो विकेटका लागि अनिलसँग १ सय ६ रनको साझेदारी गरे ।

सुदूरपश्चिमका लागि शेर मल्लले १० ओभरमा ६५ रन खर्चिदै चार विकेट लिए । यसैगरी विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक विकेट लिए ।