नेपाली फुटबल

एन्फा विशेष साधारणसभा सम्पन्न गर्न ४३ लाख ३० हजार खर्च

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ । ललितपुर महानगरपालिकास्थित हेरिटेज गार्डेनमा सोमबार लेखा परिक्षक नियुक्ती एजेण्डाको छलफलका लागि बोलाइएको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले लेखा परिक्षक वर्ष २०७९/८० का लागि एलएसबी एसोसियट र ८०/८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ ।

साधारण सभाअघि बसेको आपतकालिन बैठकमा दुई निर्णय पारित गरिएको थियो । बैठकले संघको विशेष साधारण सभाको अनुमानित बजेट ४३ लाख ३० हजार २ सय पारित गर्दा सहायक महासचिव बसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिएको थियो ।

पछिल्लो पटक अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय गर्न कात्तिक २३ गते विशेष साधारण सभा सम्पन्न भएको थियो । सोमबार एन्फाले साढे दुई महिनापछि लेखा परिक्षक नियुक्तीको एजेण्डाका लागि दोस्रो पटक विशेष साधारण सभा बोलाएको हो ।