जिपी कोइराला स्मृति तेक्वान्दो च्याम्पियनसिप

जिपी स्मृती हक्कीः नेपाल आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र लुम्बनी प्रदेश विजयी

बिराटनगर । बिराटनगरमा जारी तेस्रो गिरिजाप्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोली नेपाल आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र लुम्बनी प्रदेश विजयी भएका छन् ।

शहिद मैदानमा बुधबार बिहान भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका रोमन राना र प्रदिप राजवंशीले समान चार गोल गरे । यसबाहेक, सुमितकुमार कामीले दुई र राजेन्द्र कार्कीले एक गोल गरे । खेलको म्यान अफ द म्याच प्रदिप राजवंशी चुनिए ।

बुधबारको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ७–१ ले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशका लागि अमित ओझा र महेश नेपालीले समान दुई गोल गरे । यस्तै, केशवराज जोशी, दिपकराज जोशी, सुरेशप्रसाद जोशीले एक–एक गोल गरे । मधेश प्रदेशका रन्जन महतोले एक गोल गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका गणेश ठगुन्ना चुनिए ।

तेस्रो खेलमा लुम्बनी प्रदेशले प्रदेश १ लाई ४–१ ले पराजित गरेको छ । लुम्बनी प्रदेशका लागि सुरजकुमार घर्तीले सर्वाधिक दुई गोल गरे । योगेश कुमार बारघरे र अदनान अन्सारीले समान एक–एक गोल गरे । प्रदेश १ का लागि नरेश थापा मगरले एक गोल गरे । खेलको म्यान अफ द म्याच लुम्बनी प्रदेशका मोहम्मद शलमान शेख चुनिए ।

प्रतियोगिताअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई १४–० गोल अन्तरले पराजित गरेको थियो । हिजो भएको दोस्रो खेलमा प्रदेश एकले मधेश प्रदेशलाई १–० गोल अन्तरले पराजित गरेको थियो । हिजो भएको तेस्रो खेलमा सुदुर पश्चिम प्रदेशले लुम्बनी प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत बिहीबार बागमती र गण्डकी, सुदूरपश्चिम र प्रदेश १, लुम्बनी र मधेश प्रदेशबीच हुनेछ ।

चैत्र आठ गतेदेखी १२ सम्म हुने प्रतियोगितामा ६ प्रदेश र एक विभागिय टोलीको सहभागिता छ । प्रतियोगिताको समुह ए मा मधेश प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बनी प्रदेश र प्रदेश एक रहेका छन । समुह बी मा नेपाल आर्मी क्लब, बागमती प्रदेश र गण्डकी प्रदेश रहेका छन । समुह ए र बी का विजेता तथा उप–विजेताले सेमिफाइनलमा भिडने छन । प्रतियोगिताको फाइनल खेल चैत्र १२ गते हुनेछ ।